एमाले महाधिवेशनमा दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान बिहान ८ बजेसम्म 

मंगलबार, मंसिर १४, २०७८

सौराहा, १४ मंसिर । नेकपा एमालेको केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ । दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालिका संशोधन गरेको थियो ।  १२ बजे अन्तिम नामावली सार्वजनिक गरेर राति ९ ३ बजेसम्म मतदान गर्ने तालिका बनाएको थियो ।  उक्त कार्यतालिका सोमबार अबेर राति संशोधन भएको हो । उम्मेदवारीलाई साँघुरो बनाउन समय लागेकाले कार्यतालिका संशोधन भएको निर्वाचन समिति प्रमुख बिजय सुब्बाले जानकारी दिए । १२ बजे सार्वजनिक हुने भनिएको अन्तिम नामावली संशोधित कार्यतालिकाअनुसार सवा १० बजे सार्वजनिक भएको थियो । उम्मेदवारको संख्याअनुसार मेसिन सेट गरेर राति २ बजे विद्युतीय मतदान गर्ने कार्यतालिका तय भएको छ । मतदान ८ बजेसम्म चल्नेछ ।  एमाले केन्द्रीय कमिटीमा पदाधिकारीसहित १० पदमा १२ जनाको बागी उम्मेदवारी परेको छ ।

अन्तिम नामावली सार्वजनिक, यी हुन् बागी उम्मेदवार

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

सोमबार राती १० बजेपछि नामावली सार्वजनिक गरिएको हो । नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव हुने भएको छ ।   

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १/१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्रयासमा ब्रेक लगाएका छन् । यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् । अरुले फिर्ता लिएका छन् ।  नेतृत्वसहित पदाधिकारी चयनका लागि राति २ बजेपछि मतदान सुरु हुनेछ ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपसचिव भने सर्वसम्मत भएको छ । त्यसैगरी भुगोलमा केही प्रदेश, जनवर्गीय संगठन पनि सर्वसम्मत चयन भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार