कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक

सोमबार, मंसिर १३, २०७८

काठमाडौं, १३ मंसिर : नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने छन् ।

यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ । मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

धनुषाका तीन क्षेत्रमा कांग्रेस नेतृत्व सर्वसम्मत 

धनुषाका चार मध्ये तीन वटा क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ । 

धनुषा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर १, ३ र ४ मा क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको हो । क्षेत्र नम्बर २ को अधिवेशन हुन अहिले बाँकी नै रहेको छ । क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन आइतबार नै धिरेन्द्र निधीलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको थियो । 

सोमबार क्षेत्र नम्बर १ र ४ को अधिवेशन सम्पन्न भएको हो । क्षेत्र नम्बर १ मा जीतनारायण यादवलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको छ । 

त्यसैगरि, महाधिवेशन प्रतिनिधिमा कांग्रेस नेता आन्नद ढुङगना, उनकी पत्नी पदमा ढुङगना, प्रेमकिशोर साह, भोला परियार, लियाकत राईन, हरिनारायण साह, मनहरी श्रेष्ठ, प्रदीप यादवलगायत २५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको सबैला नगरपालिकाका मेयर विजय शंकर साहले जानकारी दिए । 

त्यसैगरी, क्षेत्र नम्बर ४ मा कुमरकान्त झालाई क्षेत्रीय सभापतिमा चयन गर्दै क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेन्द्र यादव, पूर्व सांसद चन्द्रमोहन यादव, योगेन्द्र पजियार, समीर घिमिरे, वासुलाल महतो, राजकुमार महतो, इव्राहिम राईन, वीरेन्द्र साह, नबल यादव, बुलन यादव, सन्तोष यादव, कोमलकान्त झा, मनोज मिश्र, तुल्सा आचार्य, सरूँ लामा, रचना माथेमालगायत नेता सर्वसम्मत चयन भएका छन् ।  कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेन्द्र यादवले क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन बिना विवाद सर्वसम्मत सम्पन्न भएको बताए । क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनसमेत सर्वसम्मतको प्रयास भइरहेको कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामकृष्ण यादवले बताए । क्षेत्रीय अधिवेशन सर्वसम्मत गरिने विषयमा आन्तरिक सहमति भइसकेको र मंगलबार त्यो मूर्तरूप लिने नेता यादवले बताए । 

श्रोतका अनुसार क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन सर्वसम्मत गराउन कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, जिल्ला अध्यक्ष महेश शंकर गिरी, जिल्ला सचिव विश्वेश्वर यादवलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार