सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १२ मंसिर : सुर्खेत कांग्रेस सभापतिमा खड्का पोखरेल निर्विरोध चयन भएका छन् । उनी संस्थापन शेरबहादुर देउवा पक्षका हुन् । संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार नै फेला पार्न नसकेपछि पोखरेल निर्विरोध भएका हुन् । संस्थापनइतर समूहले सभापतिबाहेकका पदमा भने उम्मेदवार बनाएको छ। उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत संस्थापन पक्षबाट उम्मेदवार बनेका छन्। इतर पक्षले उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मालाई उम्मेदवार बनाएको छ । सचिवमा संस्थापनबाट देवकुमार सुवेदी र बालदीप कँडेल र संस्थापनइतरबाट अनन्त पौडेल र जनकबहादुर रावलले उम्मेदवारी दिएका छन् । सुर्खेत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्लासमेत हो । जिल्ला सभापति कमलराज रेग्मीसहित इतर पक्षका पूर्वमन्त्री शिवराज जोशी र राज्यमन्त्री खड्ग बस्याल पराजित भएका छन्। सुर्खेतमा संस्थापनइतर पक्ष वडा तहदेखि कमजोर देखिएको छ।
गुल्मीमा देउवा पक्षको आक्रोश : छापामार शैलीको निर्वाचन प्रक्रिया मान्दैनौं
सभापति शेरबहादुर देउवा पक्षले गुल्मी कांग्रेस जिल्ला अधिवेशन छापामार शैलीमा गरिएको भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेर पुन: मतदानको माग गरेको छ ।
मुसिकोट मतदान केन्दको मतपत्रमा संकेत भेटिएपछि शनिबार दिउँसोबाट मतदान रोकिएको छ । निर्वाचन मण्डलले आइतबार बिहान ९ बजेबाट पुनः मतदान गर्ने जनाएका बेला देउवा पक्षका उमेदवारले पूरै निर्वाचन प्रक्रिया स्थगित गरेर अर्को निर्वाचनको माग गरेका छन् ।
एभरग्रिन पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै सभापतिका उमेदवार वेदबहादुर थापा मगरले मतदाता प्रभावित पार्न फोटासहितको प्रचार सामग्री वितरण गरेको, मतदातालाई डरधम्की दिइएको, पार्टीको विधानिवपरीत बंग्याएर मतपत्रमा नभएको क्रम संख्या राखिएको, अर्धकट्टीमा नाम र क्रम संख्या राखेर कब्जा गर्ने रणनीतिका साथ अगाडि बढाइएको निर्वाचन प्रक्रिया आफूहरूलाई मान्य नहुने बताए ।
‘क्षेत्रमा पनि मनोमानी चल्यो । अहिले पनि निर्वाचन मण्डल र निर्वतमान कार्यसमितिको योजनामा मतपत्र दुरुपयोग गरियोे,’ उनले भने, ‘छापामार शैली स्विकार्य छैन । मतदान नरोकिए प्रतिवाद गर्छौ ।’ उनले आफूहरूलाई जानकारी नगराइकनै मनोमानी ढंगले पुन: मतदानको मिति तय गरिएको भन्दै निर्वाचन मण्डलको पनि कडा आलोचना गरे । पौडेल पक्षका नेताहरूले भने वेद मगरको प्यानलले निर्वाचनको परिणाम स्विकार गर्न नसकेको तर्क गर्दै आएका छन् ।
दाङ कांग्रेसको सभापतिमा शंकर डाँगी
नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी चयन भएका छन् । शनिवार सम्पन्न पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि आइतबार पुनः मतदान गर्ने भनिएको थियो । तर, सभापतिको उम्मेदवारहरू शंकर डाँगी र भूपबहादुरबीच सहमति भएपछि डाँगीलाई सभापति घोषणा गरिएको हो ।
शनिवारको निर्वाचनमा डाँगीले सात सय ७६ र अर्का उम्मेदवार भूपबहादुर डाँगीले पाँच सय ४५ मत ल्याएका थिए । यस्तै, सभापतिका अर्का उम्मेदवार जानकीलाल बस्नेतले चार सय ७१ र कमलकिशोर घिमिरेले तीन सय १५ मत पाएका थिए ।
प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नपाएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिए पनि सहमतिपश्चात् डाँगी सभापति बनेका हुन् । भूपबहादुरले डाँगीलाई सभापतिमा समर्थन गरेपछि उनलाई सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।