भीम रावललाई ओलीको जवाफ, 'उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन'

शनिबार, मंसिर ११, २०७८

चितवन, ११ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताएका छन् । उनले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने बताएका हुन् ।

ओलीले सहमतिको प्रयास गर्दै आएको भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । 'विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन', ओलीले भने । ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी फिर्ता लिनुहुन्छ भनेका थिए। यसका साथै ओलीले सहमति र एकता भएको बताएका थिए ।

निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्ने छैन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्दै रावलले पार्टी महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका हुन् ।

'सहमति गर्नुपर्छ भन्ने ठिक छ । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति होला । उम्मेदवारी दिएन भने त सर्वसम्मत भइहाल्यो नी,' उनले भने, 'विधान विपरित कुनै काम हुन सक्दैन । कि त अब उपरान्त निर्वाचन हुनेछैन भनेर लेख्नुपर्‍यो ।' 

निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्नु गलत रहेको रावलले बताए । समन्वय कमिटी बाहेक सबैमा निर्वाचन हुने विधानमा व्यवस्था रहेकाले पार्टी विधान अनुसार चल्नुपर्ने उनले बताए ।

उनले आफूले कुनै पनि हालतमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनले आफू बाहेक अन्य नेताहरूले पनि विभिन्न पदमा उम्मेदवारी दिने बताएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार