बन्दसत्र हल अगाडि सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी

शनिबार, मंसिर ११, २०७८

सौराहा, ११ मंसिर । सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ ।

बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ । 

वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ ।

नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् । 

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । 

महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए । 

‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ । 

पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।

रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । अध्यक्ष केपी ओली भने आफू बसेको रिसोर्टमा निकटका नेताहरूसँग छलफलमा जुटेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार