सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । यसपालिको तिहारमा एउटा मात्रै नेपाली फिल्म प्रदर्शन हुने भएको छ । पहिला तिहारको अवसरमा ‘धूम-४’ र ‘चोर र पुलिस’ गरी दुई फिल्म एकसाथ प्रदर्शन हुने प्रचार गरिएको थियो । तर, अन्तिम समयमा आएर ‘चोर र पुलिस’ को प्रदर्शन स्थगित गरिएको छ । कोभिडका कारण झन्डै डेढ वर्ष बन्द रहेको सिनेमा घर क्रमशः खुल्दै गइरहेको अवस्थामा दसैंमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’ गरी दुईवटा नेपाली फिल्म प्रदर्शन भएका थिए । दुवै फिल्मले दर्शकको साथ पाएनन् । तिहारमा हिन्दी फिल्म ‘सूर्यवंशी’ प्रदर्शन हुने तयारीमा छ । अधिकांश नेपाली निर्माताहरू ‘सूर्यवंशी’ को व्यापार हेरेर मात्रै आफ्नो फिल्म प्रदर्शन गर्ने दाउमा छन् । तर, निर्माता जयकिशन बस्नेतले आफ्नो फिल्म ‘धूम-४’ ‘सूर्यवंशी’ भन्दा एक दिन अगाडि अर्थात् १८ कात्तिकमा प्रदर्शन गर्दैछन् । ‘चोर र पुलिस’ का निर्माता, निर्देशक आरएल लामाले भने ‘हलको परिस्थिति अनुकूल नदेखेको’ भन्दै आफ्नो फिल्म प्रदर्शन स्थगित गरेका छन् । उनले ‘चोर र पुलिस’ १७ कात्तिकमा प्रदर्शन हुने भन्दै प्रचार गरेका थिए । ‘पहिला हलमा दर्शक आउने स्थिति कस्तो हुन्छ, हेरौं, त्यसपछि मात्रै रिलिज गरौला,’ उनले भने, ‘फिल्म रिलिज गरौंला, हलमा दर्शक नै आइदिएनन् भने त पूरै डुबिन्छ । त्यसैले केही समय पर्ख र हेरको स्थितिमा पुगेको छु ।’ जयकिशन भने ठप्प रहेको फिल्म बजारलाई तताउन फिल्मकै आजश्यकता पर्ने भएकाले आफूले ‘धूम–४’ प्रदर्शन गर्न लागेको बताए । ‘मलाई विश्वास छ, मेरो फिल्म हेर्न दर्शक आउँछन्,’ उनी भन्छन्, ‘धूम-४’ ओटिटी प्लेटफर्म, डिस होम र हलमा एकसाथ रिलिज गर्दैछु । म हरेक तवरले दर्शकलाई मनोरञ्जित तुल्याउन चाहन्छु ।’ स्थिति पूर्णरूपले अनुकूल भइनसकेको भए पनि आफू ‘रिस्क’ लिन तयार भएको उनले बताएका छन् । जयकिशनकै निर्माण, निर्देशन र अभिनय रहेको फिल्मका अन्य कलाकारमा जाहान्वी बस्नेत, संजोग रानालगायतले अभिनय गरेका छन् ।