फिल्म निर्माताबाट हल मालिक बन्दै दीपकराज

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं : टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६ , वडा नम्बर ६ सँगै छक्का पञ्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । प्राय: फिल्म प्रदर्शनको समयमा उनले वितरक र हल संचालकले नेपाली फिल्मका निर्माताहरूलाई पाखा लगाउने गरेको गुनासो गर्ने गरेका छन् । 

विदेशी फिल्ममा मनग्य पैसा लगानी गरे तापनि नेपाली फिल्मलाई प्रदर्शनमा समेत वितरकले नसघाउने गुनासो उनको हुन्थ्यो । यिनै दीपक केही समय अगाडि फिल्म वितरण कम्पनी एफडीसँग जोडिएका थिए । अब उनी हल संचालक पनि बन्ने भएका छन् । उनले आफ्ना साथीहरूसँगको सहकार्यमा नयाँ बानेश्वरमा हल संचालनमा ल्याउँदै छन् । यसै वर्षदेखि संचालनमा ल्याउने तयारीका साथ काम भइरहेको दीपकले बताउँदै आएका छन् । 

निर्माता हुँदा उठाउने आवाज अब उनले उठाउलान् त ? भन्ने जिज्ञासा हुनु स्वाभाविक नै हो । दीपक भने आफूले सदैव कलाकार र निर्माताका लागि बोल्ने बताउँछन् । 'म पहिला कलाकार हुँ, त्यसपछि निर्माता, वितरक र हल संचालक हुँदै छु । मेरो आवाज कलाकार र निर्माताका लागि सदैव उठ्छ । यसमा दुई मत नै छैन', दीपकले भने । गत शुक्रबार एक हलको उद्घाटनका लागि पुगेका दीपकले आफूलाई कलाकार भन्दा खुसी लाग्ने बताए । 

कोरोना भाइरसपछिको समयमा अब निर्माता, वितरक र प्रदर्शकले आपसी सहकार्य गरेर मात्र नेपाली फिल्म पहिलेको स्थानमा पुग्ने उनको बुझाइ छ । 'यो समय आन्तरिक प्रतिस्पर्धाको होइन, हामीले सहकार्य गर्न नसके त्यसको असर हामीलाई नै पर्छ', उनी भन्छन्, 'अब दर्शकलाई हल सुरक्षित रहेको संदेश पुर्‍याएर हलसम्म ल्याउन लाग्नुको विकल्प छैन ।' दीपकले हाललाई नेपाली बजार सुहाउँदो फिल्म दर्शकमाझ ल्याउनुपर्नेमा जोड दिए । 

दीपक कलाकार, निर्देशक निश्चल 

टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६, वडा नम्बर ६ सँगै छक्का पन्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । 

निर्देशक निश्चल बस्नेतले डेब्यु फिल्म 'लूट' मै आफूलाई स्थापित गराउन सफल भए । उनको फिल्मले नेपाली फिल्म बन्ने शैलीलाई नै परिवर्तन गरिदियो । निश्चलले नेपाली फिल्मको शैलीमा नयाँपन दिएको दीपक पनि स्वीकार गर्छन् । 

गत शुक्रबार कीर्तिपुरस्थित सञ्चालनमा आएको हल कीर्तिपुर सिनेप्लेक्सको उद्घाटनमा पुगेका दीपकले निश्चलको फिल्मपछि कथा र पात्रलाई ध्यान दिने क्रम बढेको बताए । 'कथा र पात्र नै फिल्मको हिरो हो । हिरोले पात्रलाई बलियो बनाउने होइन भन्ने सोचाई विकसित भयो,' दीपकले भने । 

निश्चलकी पत्नी तथा अभिनेत्री स्वस्तिमा खड्काले छक्का पन्जामा काम गरेपछि दीपक र निश्चल नजिकिएका हुन् । बेलाबखतमा निश्चल र स्वस्तिमासँग दीपक र दीपाश्री निरौलाले जमघट गर्ने गरेका छन् । के यो सहकार्यको संकेत हो ? दीपकले कुराकानी भइरहेको स्वीकारे । 'केही समयमै हाम्रो सहकार्य हुने फिल्म घोषणा हुन्छ भन्नु हतार हुन्छ । तर, कुराकानी भइरहेका छन्,' दीपकले भने । 

उनले अब सहकार्यले नै नेपाली फिल्मलाई चलायमान बनाउनेमा जोड दिँदै आफू अन्य फिल्मकर्मीहरूसँग पनि सहकार्यका लागि तयार रहेको बताए । उनले निश्चलको निर्देशनमा आफूले अभिनय गर्ने इच्छा जाहेर गरे । 'म उहाँको निर्देशनमा कलाकार भएर काम गर्न तयार छु,' दीपकले भने । निश्चलले पनि आफूलाई फिल्ममा काम गर्दा निर्देशनमा मज्जा आउने बताए । 

'फिल्ममा मेरो प्राथमिकता निर्देशन नै हो । त्यसपछि मात्र अन्य रूपमा म अगाडी आएको हुँ,' निश्चलले भने । उनी दीपकलाई निर्देशन गर्ने कथा पाएमा अवश्य फिल्म अफर गर्ने बताए । यद्यपि उनले यो समय दर्शकलाई हल सुरक्षितको सन्देश दिनु पर्ने र निर्माताको लगानी पनि सुरक्षित हुने फिल्म ल्याउनु पर्ने रहेको बताए । 

'हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ,' निश्चल भन्छन्, 'अन्ततः फिल्ममा जोडिने भनेकै बिजनेस हो, त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।'

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार