‘चुरीफुरी’ फिल्मको ओइओइ पियारी सार्वजनिक

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं । कमेडी जनराको फिल्म ‘चुरीफुरी’ मा समावेश शीर्ष गीत ‘ओइओइ पियारी’ सार्वजनिक गरिएको छ । ९ पुसमा प्रदर्शन हुने फिल्मको सो गीत दर्शकमाझ ल्याइएको हो ।  चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थितिमा गायक समीर आचार्य र गायिका बेनिशा पौडेलले गाएर गीत सार्वजनिक गरिएको हो ।  ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको सो गीतमा दीपक शर्माको संगीत छ । कार्यक्रममा निर्देशक आचार्यले ‘चुरीफुरी’ सामाजिक बिषयको हाँस्य प्रदान फिल्म भएको बताए ।  उनले कोरोनाका कारण दिक्दार भएका दर्शकलाई आफ्नो फिल्मले भरपुर मनोरञ्जन दिने दावी गरे ।  यही फिल्मबाट डेब्यु गरेका अभिषेक श्रेष्ठले ‘चुरीफुरी’ आफ्नो करिअरको पहिलो पाइला भएकाले सबैले मन पराउने विश्वास व्यक्त गरे । उनले आफूले बच्चैदेखि अभिनयमा करिअर बनाउने सपना बुनेको र अहिले आएर पहिलो कदम चाल्न पाएकोमा खुसी व्यक्त गरे । केही म्युजिक भिडियोमा अभिनय गरेको अभिषेक जुनियर अनमोल केसीको रूपमा समेत परिचित छन् ।  त्यसैगरी, यसै फिल्मबाट डेब्यु गरेका पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङले पनि आफूहरू फिल्मप्रति निकै आशावादी रहेको बताए । फिल्मका अर्का कलाकार राजीवजंग बस्नेतले पनि दर्शकलाई ‘चुरीफुरी’ले भरपुर मनोरञ्जन दिने दावी गरे । बोर्ड अध्यक्ष दाहालले चलचित्र क्षेत्र चलायमान बनाउन आफूहरू लागिपरेको बताउँदै अहिलेको अवस्थामा फिल्म प्रदर्शन गर्न तयार भएका निर्माताहरूलाई बोर्डले सक्दो सहयोग गर्ने जानकारी दिए । उनले सबैको साथ, सहयोग र हौसलाले मात्रै नेपाली फिल्म फेरि जुर्मुराउने बताउँदै ‘चुरीफुरी’लाई सफलताको शुभकामना व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार