कता जाँदैछ समाज ?

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी
बुधबार, साउन ६, २०७८

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालत मुद्दा फछ्र्योट गर्नेमा लुम्बिनी प्रदेशमै प्रथम बनेको छ । आव २०७७÷७८ मा लुम्बिनी प्रदेशका सबै अदालतमध्ये सबैभन्दा बढी मुद्दा फछ्र्योट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताएका छन् ।  जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दाको ७० दशमलब ९३ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फछ्र्योट गर्ने जिल्ला बनेको हो । आव २०७६÷०७७ मा बाँकी रहेका १४९ थान र गत आव २०७७÷७८ का २८० थान गरी ४३० थान मुद्दा रहेकोमा यस आवभित्र ३०५ थान मुद्दा फछ्र्योट भएको अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिए । 
अर्घाखाँचीपछि सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७०.३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६.४१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अर्घाखाँची जिल्ला अदालतमा अब १२५ थान मुद्दा मात्र बाँकी रहेका छन् । अदालतले गत आवमा ३०० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा ३०५ थान अर्थात् लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछ्र्योट गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए ।  यस अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन् । गत आवमा जिम्मेवारी सरी आएका ५२ र यस वर्ष नयाँ दर्ता हुन आएका १२३ गरी जम्मा १७५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । एक वर्षमा १४२ थान फछ्र्योट भई ३३ थान बाँकी रहेका छन् । अदालतमा रहेका सम्पूर्ण मुद्दाको तुलनामा झण्डै ४१ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेका छन् । 
फौजदारी मुद्दातर्फ जबरजस्ती करणीसम्बन्धी मुद्दा बढी परेका छन् । अघिल्लो वर्षका नौ थान र यस आवमा नयाँ दर्ता भएका १३ गरी जम्मा २२ थान जबरजस्ती करणीसम्बन्धी मुद्दा रहेकोमा १४ थान फछ्र्योट भई आठ थान बाँकी रहेका छन् ।–रासस
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार