गोदावरी नगरको अर्को उदाहरणीय काम

सर्वसाधारणका लागि रातको १२ बजेसम्म बस सञ्चालन  

शनिबार, असोज ३, २०८३

बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकाले मध्यरातसम्म चल्ने गरी सर्वसाधारणका लागि साझा यातायातको बस सेवा सुरु गरेको छ । 
साझा यातायातसँगको सहकार्यमा पालिकाले शनिबार (असोज ३ ) बाट बस सेवा सुरु गरेको हो । बससेवा ललितपुरको गोदावरी र  चापागाउँ टाहाखेलबाट लगनखेल हुँदै काठमाडौंको बुढानीलकण्ठसम्म सञ्चालन हुनेछ । यो सेवा रातको १२ बजेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगर प्रमुख गजेन्द्र महर्जनले नागरिकको सहजताको लागि साझा यातायातासँगको सहकार्यमा यो काम गरिएको बताए । उनले भने, ‘नागरिकको सहजताको लागि मध्यरातसम्म बस चलाएका हौं ।’ विदेशका अभ्यासबाट आफूले सार्वजनिक यातायातको रुपमा ठूलो बस सञ्चालन गर्नुपर्ने कुरा सिकेको बताए । उनले भने, ‘यसले दीर्घकालीन रुपमा वातावरण संरक्षण र ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्नेछ ।’ दुई रुटमा गरेर पालिकाले आठवटा बस सञ्चालनका लागि साझा यातायातसँग सहकार्य गरेको हो । पालिकाले गरेको यो निर्णयबाट त्यस क्षेत्रका सार्वजनिक यातायात प्रयोग गर्ने नगरवासी खुशी भएका छन् । नगरले थुप्रै जनउपयोगी काम गरेको बताउँदै यातायातको सहज व्यवस्थापनसमेत उत्कृष्ट शहरको महत्वपूर्ण अवयव भएको उनीहरुले बताए । 

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार