सोसल मिडिया
Contact Us
युनिकोड
बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकाले एसइई २०८२ मा उत्कृष्ट र सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको छ । यसैगरी विद्यावारिधि (पिएचडी) गर्ने नगरवासीलाई समेत नगरपालिकाले सम्मानित गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले सम्मानसहित पुरस्कार प्रदान गरेको हो । एसईई २०८२ मा जिपिएको आधारमा सर्वोत्कृष्ट अंक ल्याएका सामुदायिक विद्यालयका तीनजना र संस्थागत विद्यालयका ६ जना गरी नौजना विद्यार्थीलाई नगरपालिकालको पुरस्कृत तथा सम्मानित गरेको हो । पालिकाले प्रत्येक विद्यार्थीलाई ५० हजार नगद पुरस्कार प्रदान गरेको छ । सामुदायिक विद्यालयतर्फ वाणी विलास माविका छात्रा एन्जेला धमाल (३.९६ जिपिए), बज्रबाराही माविका छात्रा नर्वे शाही (३.९२ जिपिए), देवी माविका छात्र अनिश बजगाइँ (३.९२ जिपिए) प्राप्त गरेका छन् भने सेन्टपल स्कूलका श्रीजल रिजाल, हिलटप स्कूलका जगदीश घिमिरे, गोदावरी रेसिडियन्स स्कूलका सम्यक सिग्देल, बज्र एकेडेमीका अर्नव के.सी, सेन्ट जेभियर्स स्कूलका संकेत विष्ट, क्रिसेन्ट स्कूलका सुविक्षा श्रेष्ठलाई नगद पुरस्कासहित सम्मानित गरिएको हो । संस्थागत विद्यालयतर्फ पुरस्कृत हुने विद्यार्थीले एसईई २०८२ परीक्षामा ४ जिपिए प्राप्त गरेका थिए । यसैगरी कार्यक्रममा नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययन गरेर ३ दशमलव ६ जिपिए भन्दा माथि ल्याउने २० जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । उनीहरुलाई जनही ५ हजार नगद प्रदान गरिएको छ ।
एसईई २०८२ मा कम्तिमा २० जना विद्यार्थीलाई सहभागी गराएर विषयत रुपमा विद्यार्थीले प्राप्त गरेको जिपिएबाट औषत जिपिए निकाली सबैभन्दा बढी जिपिए प्राप्त गर्ने अनिवार्य विषयका शिक्षकलाई पनि पालिकाले नगद पुरस्कार पाँच हजारसहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा सामुदायिक विद्यालयतर्फ बज्र्रबाराही माध्यमिक विद्यालयका अंग्रेजी विषय शिक्षक कमलप्रसाद बराल, बज्रबाराही माध्यमिक विद्यालयका नेपाली शिक्षक सृजना अधिकारी, बुद्ध मावि बाँडेगाउँका दिपेन्द्र ठाकुर, भीमसेन आदर्श माध्यमिक विद्यालयका विज्ञान तथा प्रविधि शिक्षक रहरबहादुर श्रेष्ठ, बज्रबाराही माध्यमिक विद्यालयका सामाजिक तथा मानव मूल्य विषयका शिक्षक श्याम महरा रहेका छन् । यसैगरी संस्थागत विद्यालयतर्फ इन्द्रेणी अंग्रेजी माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक विजय बुढाथोकी, लालीगुराँस माध्यमिक विद्यालयका नेपाली शिक्षक हरिप्रसाद देवकोटा, लालीगुराँस माध्यमिक विद्यालयका गणित शिक्षक लेखनाथ देवकोटा, लालीगुराँस माध्यामिक विद्यालयका विज्ञान तथा प्रविधि शिक्षक विनोद देवकाटा रहेका छन् । यसका साथै लालीगुराँस माध्यामिक विद्यालयका सामाजिक तथा मानव मूल्य शिक्षा विषयका शिक्षक यादव अधिकारीले पुरस्कार तथा सम्मान पाएका छन् । कार्यक्रममा ३० वर्षभन्दा माथि शिक्षण गरेर शैक्षिक क्षेत्रमा योगदान पुर्याएका ८ जना शिक्षकलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।
सामुदायिक तर्फ बुद्ध मा.वि. बाडेगाउँ प्रथम, भीमसेन मा.वि. दोस्रो बुद्ध मा.वि. टीकाभैरव तेस्रो एसईई २०८२ मा सामुदायिकतर्फ २ दशमलव ५४ जिपिए ल्याएर बुद्ध मावि बाडेगाउँ प्रथम भएको छ । २ दशमलव ४ जिपिए ल्याएर भीमसेन आदर्श मावि दोस्रो भएको छ भने २ दशमलव ०० जिपिए ल्याएर बुद्ध मावि टीकाभैरब तृतीय भएको छ । यसैगरी संस्थागततर्फ ३ दशमलव ६७ जिपिए ल्याएर लालीगुराँस मावि प्रथम, ३ दशमवल ४४ जिपिए ल्याएर हिलटप मावि द्धितीय, ३ दशमलव ४३ जिपिए ल्याएर नेवा इङलिस स्कूल तृतीय भएका छन् । यी विद्यालयका प्रधानाध्यपक र व्यवस्थापन समिति अध्यक्षलाई नगर प्रमुख र उपप्रमुखले सम्मान गरेका हुन् ।
कक्षा ८ र कक्षा १२ उत्कृष्ट हुने पनि सम्मानसहित पुरस्कृत यसैगरी आधारभूत तह कक्षा ८ को परीक्षा नतिजाको आधारमा उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो । उक्त परीक्षमा सामुदायिकतर्फ गणेश माध्यमिक विद्यालय र संस्थागततर्फ सेन्टजेभियर्स माध्यमिक विद्यालय उत्कृष्ट भएका थिए । यसका साथै उत्कृष्ट विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो सामुदायिक र संस्थागत विद्यालयका गरी ५ जना विद्यार्थी पुरस्कृत भए । पुस्कृत विद्यार्थीलाई जनही पाँच हजार नगद प्रदान गरिएको थियो । उक्त परीक्षामा सामुदायिक विद्यालयतर्फ बज्रबाराही माध्यमिक विद्यालय पुजना तामाङ (छात्रा तर्फ) । यसैगरी उक्त विद्यालयबाटै अजय गुरुङ (छात्र तर्फ) र आराध्यदेव लम्साल (छात्र तर्फ) सम्मानसहित पुरस्कत भए । संस्थागत विद्यालयबाट छात्रा तर्फ सेन्टजेभियर्स माध्यमिक विद्यालयका एञ्जल रसाइली र सांग्रिला इन्टरनेशलनल स्कूलकी आदित्य बडाल (छात्र तर्फ) पुरस्कृत भए । कार्यक्रममा गोदावरी नगरपालिकाले कक्षा १२ को परीक्षमा जिपिएको आधारमा सर्वोत्कृट विद्यार्थी सम्मानसहित नगद पुरस्कार प्रदान गरेको छ । पुरस्कृत ४ जना विद्याार्थीलाई जनही १० हजार प्रदान गरिएको थियो । उक्त परीक्षामा सामुदायिक विद्यालयबाट छात्रातर्फ प्रगति लुइँटेल र छात्रतर्फ सोहेल श्रेष्ठ रहेका छन् । उनीहरु दुबैजना बज्रबाराही माध्यमिक विद्यालयका विद्यार्थी हुन् । यसैगरी संस्थागततर्फ छात्रातर्फ भावना दैवज्ञ र छात्रतर्फ प्रशिन थापा रहेका छन् । उनीहरु दुबैजना सेन्ट जेभियर्स स्कूलका विद्यार्थी हुन् ।
शतप्रतिशत ग्रेडेड विद्यालयलाई पनि सम्मानसहित पुरस्कार एसईई २०८२ मा शतप्रतिशत गे्रडेड गर्ने सामुदायिक विद्यालयलाई गोदावरी नगरपालिकाले सम्मनसहित पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा बाडेगाउँको बुद्ध माध्यामिक विद्यालय र बज्रबाराहीको बज्रबाराही माध्यामिक विद्यालय रहेका छन् । बुद्ध माध्यमिक विद्यालयले एक लाख र बज्रबाराही माविले ५० हजार प्राप्त गरेका छन् । विद्यार्थी संख्याको आधारमा यो पुरस्कार प्रदान गरिएको हो । १०० सय भन्दा कम र १०० भन्दा बढीलाई आधार मानिएको छ ।
पिएचडी गर्ने नगरवासी सम्मानित गोदावरी नगरपालिकाले विद्यावारिधी (पिएचडी) गर्ने नगरवासीलाई विद्यावारिधी (पिएचडी) सम्मानबाट सम्माति गरेको छ । सम्मानित हुनेमा वडा नंं. ११ की नरायणी महर्जन, वडा नं. १० का कुलदीप न्यौपाने, सागरमणि न्यौपान, वडा नं. ९ का जनार्दन विष्ट रहेका छन् । नारायणीले क्लिनिकल मेडिसिनमा, कुलदीपले स्कूल गभर्नेन्समा ,सागरमणिले शिक्षाक्षेत्रमा र जनार्दनले पत्रकारिता र आमसंचार विषयमा विद्यावारिधी गरेका छन् ।
कसले के भने ? गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पालिकाले १० वर्षको अवधिमा पालिकाभित्र शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए । स्थानीय तहको निर्वाचन २०७४ पछि शिक्षा क्षेत्रमा पालिकामा भएका कामले आफूलाई सन्तुष्टि प्रदान गरेको बताउँदै नगर प्रमुख महर्जनले भने, 'त्यसको मापन विद्यालयमा बढेको विद्यार्थी संख्या, विद्यार्थीको गुणस्तर र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति हो ।' उनले भने, ‘सन्तुष्टिको आधार सामुदायिक विद्यालयमा बढेको विद्यार्थी संख्या र त्यहाँ विद्यार्थीले गरेको प्रतिस्पर्धा हो ।’ आफूले दुई कार्यकाल नगर प्रमुखको जिम्मेवारीमा रहँदा शिक्षा क्षेत्रलाई धेरै प्राथमिकता दिएको बताउँदै १० वर्षअघि गोदावरी नगरपालिकामा शिक्षा क्षेत्रको टिठ लाग्दो अवस्था स्मरण गरे । गुणस्तर कायम नभएसम्म लगानीको सार्थकता नहुने बताउँदै उनले शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय तहको प्रयासले मात्रै लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने धारणा राखे । नगर उपप्रमुख मुना अधिकारीले पालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेको बताउँदै त्यसको प्रतिफल प्राप्त भएकोमा खुशी व्यक्त गरिन् । विद्यार्थीले कक्षामा सिकेका र पढेका विषयलाई व्यवहारमा उर्तान सक्नु आजको आवश्यकता भएको उनले बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले गुरु र शिक्षकबीचको भिन्नता औंल्याउँदै गुरु चरित्र र व्यवहार भएको प्रष्ट पारे । समाजमा गुरुको अभाव खड्किएको बताउँदै गुरुले विद्यार्थीलाई पाठ मात्रै पढाउने नभई जीवन जिउने कला सिकाउनुपर्ने धारणा राखे । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपानले पालिकाले शिक्षा क्षेत्रमा गरेको नीतिगत निर्णय र लगानीको प्रतिफल यो सम्मान र पुरस्कार भएको बताए । स्थानीय तहको निर्वाचन २०७४ अघिसम्म यस पालिकाको शिक्षा क्षेत्र धरासायी भएको बताउँदै विद्यालयमा बढेको विद्यार्थी संख्या, गुणस्तरलगायतका विषयले त्यसको मापन गर्ने उनको भनाई थियो । वरिष्ठ विद्यालय निरीक्षक सुनिता महर्जनले पालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको बताउँदै यहाँ भएका कामको अनुशरण अन्य पालिकाले समेत गरेको प्रष्ट पारिन् । कार्यक्रममा विद्यार्थी र शिक्षकले कविता वाचन पनि गरेका थिए । त्यसैगरी विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।