सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोशी, नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ । बाढी पूर्वानुमान बुलेटिनअनुसार बागमती, पश्चिम राप्ती र बबई नदीको जलसतहसमेत सतर्कता तह नजिक पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका प्रमुख नदीहरूको आगामी तीन दिनको जलसतह पूर्वानुमान गरिएको छ । पूर्वानुमानमा पहेँलो र सुन्तला रङमा देखाइएका नदी किनार तथा जिल्लामा बसोबास गर्ने नागरिकलाई सतर्क तथा उच्च सतर्क रहन आग्रह गरिएको छ । हाल कोशी र नारायणी नदी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि रहेको तथा बागमती, पश्चिम राप्ती र बबई नदीहरू सतर्कता तह नजिक रहेको बुलेटिनमा उल्लेख छ । सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोलानाला आसपासका बासिन्दालाई जलसतहको अवस्था र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा पूर्वसूचनामा ध्यान दिन आग्रह गरिएको छ । प्राधिकरणले बाढीको सम्भावित जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा उच्च जोखिममा रहेका स्थानका बासिन्दालाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।