दुई पालिकाको कोभिड कोषमा सूर्य नेपालद्वारा ५० लाख सहयोग

मंगलबार, साउन ५, २०७८

दमौली । सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रु ५० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो ।  सूर्य नेपालले शुक्लागण्डकीलाई रु ३० लाख र म्याग्दे गाउँपालिकालाई रु २० लाख सहयोग गरेको जनाएको छ । सूर्य नेपाल प्रालि तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले सम्बन्धित पालिकाका प्रमुख र अध्यक्षलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा कार्कीले कम्पनीले यस क्षेत्रमा गरेका विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । कम्पनीका मानव संशाधन प्रमुख अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको बताए । 
शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले सूर्य नेपाल प्रालिले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो । 
सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा रु १० लाख तथा सातवटै प्रदेशमा रु एक÷एक करोड प्रदान गरेको थियो । सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरू गर्दै आइरहेको छ । 
कम्पनीले गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक÷एक थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारका लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयवासीलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार