सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । पहुचयोग्य, किफायती, गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यले गोदावरी नगरपालिकामा स्थापना भएको तिलगंगा सर्जिकल आँखा केन्द्रले प्रभावकारी सेवा दिएको छ । यो केन्द्र उपलब्ध गराएको सेवा प्रभावकारी भएको पुष्टि स्थापनाको छोटो अवधिमा नै यहाँ उपचार गराउनेहरुको संख्याले गरेको हो । यो केन्द्र पालिकाको वडा नं. ११ मा सन् २०२४ को जनवरी १ देखि सुरु भएको हो । केन्द्रका इन्चार्ज श्रद्धा महर्जनका अनुसार केन्द्रको स्थापना भएदेखि अहिलेसम्म १८ हजार भन्दा बढीले आँखाको परीक्षण गराएका छन् । ७५५ सय भन्दा धेरैको शल्यक्रिया भएको छ । ३५ वटा विद्यालय र समुदायमा आँखा शिविर संचालन भएको छ । केन्द्रको यस वर्षको मुख्य उपलब्धिहरूमा फन्डस फोटोग्राफी विस्तार, मोतीबिन्दु र प्रमुख शल्यक्रियामा वृद्धि, औषधि र चश्मामा पहुँच सुधार, वित्तीय स्थिरता, र समुदायमा विश्वास तथा सेवा उपयोगमा वृद्धि रहेका छन् । चापागाउँ र आसपासका क्षेत्रका जनतालाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यले दुई वर्षअघि यो केन्द्रको स्थापना भएको हो । यो केन्द्रमा हेटौंडा, ललितपुर महानगर, महानगरलक्ष्मी नगरपालिकालगायतका छिमेकी पालिकाबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् । श्रद्धा महर्जनले भनिन्, ‘तिलगंगा आँखा अस्पतालबाट दिइने जस्तै सेवा यहाँबाट नै प्राप्त हुन्छ, यहाँ उपचार गराउँदा नजिक हुने भएको यहाँ आउनु हुन्छ , यसका साथै यहाँको सेवा र सुविधा पनि राम्रो छ ।’सबैका लागि पहुँचयोग्य, किफायती र गुणस्तरीय आँखा उपचार सेवा सुनिश्चित गर्दै रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने र प्रारम्भिक पहिचान, उपचार र जनचेतनाका माध्यमबाट जीवनस्तर सुधार गर्ने केन्द्रको लक्ष्य रहेको छ । तिलगंगा आँखा प्रतिष्ठान र गोदावरी नगरपालिकाबीच गोदावरी क्षेत्रमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न ३० वर्षे सम्झौता बमोजिम हाल केन्द्रले दृष्टि परीक्षण, व्यापक आँखा जाँच, साना र प्रमुख शल्यक्रियाहरू, फन्डस फोटोग्राफी, औषधि तथा चश्मा वितरण, आउटरीच र स्कूल आँखा स्वास्थ्य कार्यक्रमहरू,मधुमेहजन्य रेटिनोपथी जाँचलगायतका सेवा प्रदान गरिरहेको छ । गोदावरी नगरपालिका वडा नं ११ का वडाअध्यक्ष निलबहादुर देशारले गोदावरी नगरपालिकाले पूर्वाधार निर्माण सँगसँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘यो केन्द्र सञ्चालन भएपछि हामीलाई नगरबासी र उपचार गराउन आउनेले राम्रो काम गर्नुभयो भन्दै आशिर्वाद दिनुभएको छ ।’ लामो छलफलपछि गोदावरीमा आँखा केन्द्र खोल्ने केन्द्रको लेखा परीक्षण कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष सानुभाइ नगरकोटीले केन्द्रले दिएको सेवा प्रभावकारी भएको बताउँदै बिरामीको चाप धन्न विशेष व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, वडा नं. ७ का वडाअध्यक्ष मथुराप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो । तिलगंगा आँखा प्रतिष्ठानका आउटरिज म्यानेजर डा. मोहन कृष्ण श्रेष्ठले तिलगंगासँगको सहकार्यमा गोदावरी नगरमा खोलिएको यो केन्द्रबाट धेरै बिरामी लाभान्वित भएको बताए । प्रतिष्ठानका सिनियर क्लस्टर लिड हरिबहादुर कार्कीले स्थानीय सरकारसँगको सहकार्यमा संचालन गरिएको यो केन्द्रले आँखाका बिरामीलाई धाएर टाढाको अस्पताल पुग्नुपर्ने बाध्य कम गराएको बताए ।