सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र साउदी अरबबीचको करिब पाँच दशक लामो ऐतिहासिक कूटनीतिक सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो । दुई देशबीचको आपसी हितलाई केन्द्रमा राखेर उद्योग, वाणिज्य तथा श्रम क्षेत्रसँग कूटनीतिक सम्बन्धलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा दुवै पक्षबीच विस्तृत छलफल भएको थियो । छलफलमा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या, म्यानपावर कम्पनी तथा बिचौलियाबाट हुने ठगी, सीपको अभाव र सम्झौताअनुसारको काम नपाउने अवस्थालाई न्यूनीकरण गर्ने विषय उठेको थियो । यस क्रममा साउदी सरकारले श्रमिकको सीप परीक्षण र व्यवस्थापनका लागि ल्याएको ‘एसभीपी’ कार्यक्रमबारे राजदूतले जानकारी गराएका थिए । सभापति अन्सारीले साउदी जाने नेपाली श्रमिकको सुरक्षा, रोजगारीको सुनिश्चितता, सीप विकास र सहजीकरणका लागि आवश्यक नीतिगत सुधार गर्न संसदीय समितिले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा साउदी अरबबाट नेपालमा हुन सक्ने लगानीका सम्भावनाबारे पनि छलफल भएको थियो । नेपाल पर्यटन क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक भएकाले साउदी सरकार तथा लगानीकर्ताहरू नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको राजदूतले बताएका थिए । साउदी लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधार र सहजीकरणका लागि सभापति अन्सारीले राजदूतमार्फत साउदी सरकार र लगानीकर्तालाई विश्वास दिलाउन आग्रह गरे । त्यसैगरी व्यापार, पर्यटन, वातावरण, हवाई सम्पर्क तथा सांस्कृतिक सम्बन्धका विषयमा समेत छलफल भएको थियो । विशेषगरी प्रत्येक वर्ष नेपालबाट मक्का–मदिना जाने हज यात्रीहरूको व्यवस्थापन, उनीहरूले भोग्ने समस्या समाधान र यात्रालाई थप व्यवस्थित बनाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ । भेटका क्रममा आगामी दिनमा नेपाल र साउदी अरबका संसदीय समितिहरूबीच सहकार्य र संवादलाई थप विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो ।