सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमअन्तर्गत शुक्रबार बालाजु क्षेत्रमा नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) प्रदर्शन गरिएको छ । सञ्चारकर्मी तथा छायाँकार विष्णु कल्पितले तयार पारेको उक्त वृत्तचित्र येँःका पुचको व्यवस्थापकीय सहयोगमा बालाजु बाइपास क्षेत्रमा प्रदर्शन गरिएको हो ।उक्त प्रदर्शनीमा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो । कूल १४ मिनेट लामो यस डकुमेन्ट्रीमा वि.सं. २०७८ असारमा मेलम्चीमा आएको विनाशकारी बाढी र सो बाढीले बगाएको एक भैँसीको कथालाई मार्मिक रूपमा समेटिएको छ । मेलम्ची बाढीमा बगाएको भैँसीको कथामा आधारित उक्त वृत्तचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्डसमेत प्राप्त गरेको छ । महानगरपालिकाले सहरका विभिन्न टोल, चोक, पार्क र सार्वजनिक खुला स्थानहरूमा यस्ता महोत्सवहरू आयोजना गर्दै आएको छ। समुदायलाई एकै ठाउँमा भेला गराएर सामूहिक रूपमा फिल्म हेर्ने, त्यसबारे रचनात्मक छलफल गर्ने र स्थानीयलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउने मुख्य उद्देश्यसहित महानगरले यो अभियान चलाएको हो । फिल्म प्रदर्शनसँगै कार्यक्रम स्थलमा स्थानीय कला र संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न स्टलहरू समेत राखिएका थिए। मेलामा रैथाने नेवारी परिकारहरू, घरमै तयार पारिएका विभिन्न स्वादका अचार, बारा लगायतका खाद्यान्नहरूको बिक्री–वितरण भइरहेको थियो ।