एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं । नेकपा (एमाले) ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिए ।  “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । 
कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उहाँले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताउनुभयो । देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । 

विभिन्न कमिटीमा अधिवेशन
एमाले उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन् । सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी विशेष गरी चार कमिटी रहेका छन् । शाखा अधिवेशन आजदेखि सुरु भएको छ भने इलाका अधिवेशन यही कात्तिक ९ गते हुनेछ ।
सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पेशागत विशेष जिल्ला कमिटीअन्तर्गत ७६ शाखा कमिटी तथा १६ इलाका तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीअन्तर्गत ३५ शाखा तथा १२ इलाका कमिटीको अधिवेशन हुनेछ । 
यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीअन्तर्गत ११ शाखा अधिवेशन तथा दुई इलाका कमिटीको अधिवेशन हुनेछ । पर्यटन इलाका तथा शैक्षिक परामर्श व्यवसायी शाखा अधिवेशन सम्पन्न भइसकेको छ । मजदुर विशेष जिल्ला कमिटीअन्तर्गत ४० शाखा ११ इलाका कमिटीको अधिवेशन हुनेछ । एमालेको केन्द्रीय कार्यतालिकाबमोजिम आज देशभर वडा अधिवेशन भएका छन् ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार