ललितपुर महानगरद्धारा नीति-कार्यक्रम तथा बजेटका लागि सरोकारवालासँग छलफल

शुक्रबार, जेठ २९, २०८३

काठमाडाै‌ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव लिन छलफल अघि बढाएको छ । महानगरले चक्रपथबाहिरका वडाको विकास, सम्पदा संरक्षण, स्मार्ट पूर्वाधार तथा घरदैलो स्वास्थ्य सेवालाई आगामी बजेटका प्रमुख प्राथमिकता अन्तर्गत राख्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यक्रममा बिहीबार बोल्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले गत वर्ष तय गरिएका करिब ९० प्रतिशत नीति कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । महानगरले हरेक वर्ष सार्वजनिक सुनुवाइ, जनप्रतिनिधि, सल्लाहकार तथा सरोकारवालासँग परामर्श गरी नीति तथा कार्यक्रम तयार गर्ने गरेको उल्लेख गर्दै उनले यसलाई सुशासनको महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गर्नुभयो । नगरप्रमुख महर्जनले सिटी हल र सिटी पुस्तकालय निर्माणका लागि आवश्यक स्थान व्यवस्थापन भइसकेको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रममा ती योजनालाई समेटिने बताउनुभयो । पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी सटल बस सञ्चालन गर्ने योजना रहेको तथा मेकानिकल पार्किङ निर्माणलाई पनि प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो। महर्जनले महानगरमा पछि गाभिएका चक्रपथबाहिरका वडाहरूमा अझै धेरै पूर्वाधार विकास गर्न बाँकी रहेको उल्लेख गर्दै ती क्षेत्रलाई पुराना शहरी वडासरह विकास गर्ने नीति लिइएको बताए। उनले आगामी साउन १ गतेदेखि चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने जानकारी दिँदै बिरामीको जानकारी प्राप्त भएपछि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइने बताए। साथै चक्रपथ क्षेत्रमा छिट्टै स्मार्ट स्ट्रिट लाइट जडान गरिने पनि उहाँले जानकारी दिनुभयो । महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विकास निर्माणसँगै सम्पदा संरक्षण, संस्कृति प्रवद्र्धन र सामाजिक क्षेत्रलाई समान प्राथमिकता दिइएको बताइन्। उहाँले महानगरका करिब ८० प्रतिशत योजना चक्रपथबाहिरका क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै ललितपुरका जात्रा, पर्व तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आगामी वर्ष पनि पर्याप्त बजेट विनियोजन गरिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले छलफलमा उठेका सुझावलाई आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा समावेश गरिने बताउनुभयो । उहाँले अघिल्लो वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन उन्मुख रहेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रमलाई समयको आवश्यकता अनुरूप रुपान्तरणकारी र परिणाममुखी बनाइने प्रष्ट पार्नुभयो । छलफलमा सहभागी विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूले महानगरको आगामी नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए। स्यस्य समाजका नवीनमंगल जोशीले सहरमा अव्यवस्थित रूपमा झुण्डिएका तारहरूको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने र पार्किङ समस्या समाधानका लागि बहुस्तरीय पार्किङ निर्माण गर्नुपर्ने बताउनुभयो । ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ललितपुरलाई सम्पदा र पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयाो । उहाँले कोर एरियामा सरसफाइ सुधारिए पनि भित्री टोल तथा गल्लीहरूमा अझै प्रभावकारी व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै नेवा संग्रहालय स्थापना गर्न माग गर्नुभयो । राजोपाध्याय समाजका अध्यक्ष संजयराज राजोपाध्यायले नेपाल संवत् प्रवद्र्धनका लागि बजेट वृद्धि गर्नुपर्ने तथा ऐतिहासिक कात्तिक नाचको संरक्षण र विकासका लागि थप रकम विनियोजन गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले बजेट वितरणमा सन्तुलन आवश्यक रहेको धारणा राखे। उनले चक्रपथभित्रका विकसित वडाभन्दा बाहिरका वडालाई बढी बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।साथै सडक र आकाशे पुलमा राखिएका बाह्य विज्ञापनले सहरको सौन्दर्यमा असर पु¥याएको तथा स्थानीय उत्पादनभन्दा बहुराष्ट्रिय कम्पनीका विज्ञापनलाई बढी प्राथमिकता दिइएको टिप्पणी गर्नुभयो । नेवा समाजका दीपेन्द्र शिल्पकारले घरबहाल करलाई थप सहज र व्यवहारिक बनाउनुपर्ने सुझाव दिनुभयो । बौद्ध विहार संघका अध्यक्ष कर्ण बज्राचार्यले स्मार्ट स्ट्रिट लाइट जडानसँगै प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले गबहाल क्षेत्रमा ढल व्यवस्थापन कमजोर हुँदा वर्षायाममा ढल स्थानीयवासीका घरसम्म पस्ने समस्या रहेको उल्लेख गर्नुभयो । चेम्बर अफ कमर्स ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले अभिलेखीकरण कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले कर संकलनमा मात्र ध्यान दिनुभन्दा करदातालाई उपलब्ध गराइने सुविधा र सेवाको गुणस्तरमा पनि सुधार गर्नुपर्ने धारणा राख्नुभयो । वाराही संघका अध्यक्ष उपेन्द्र वाराहीले ललितपुरलाई हस्तकला नगरी घोषणा गरिए पनि त्यसपछिका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको गुनासो गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस) का ललितपुर प्रतिनिधि माधवप्रसाद घिमिरेले घरबहाल करमा आवासीय र व्यावसायिक प्रयोजनलाई फरक ढंगले हेर्नुपर्ने बताउनुभयो । आवासीय घरबहालमा करदर घटाउन सके करको दायरा विस्तार हुन सक्ने उनको भनाइ थियो। उहाँले सहरका विभिन्न क्षेत्रमा बढ्दो दुर्गन्ध व्यवस्थापनमा पनि महानगरले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । । छलफलमा सहभागीहरूले पूर्वाधार विकास, कर प्रणाली सुधार, सम्पदा संरक्षण, वातावरण व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए। महानगरले प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार