खोपको असमान वितरणबारे राष्ट्रसङ्घको महासभामा छलफल

बिहीबार, असोज ७, २०७८

न्युयोर्क । विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसङ्घको महासभामा कुरा उठेको छ ।  
विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् ।  खोपको उपलब्धता सबै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुनसक्ने चेतावनी पनि विश्वका नेताहरूले दिएका छन् ।  धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफूहरूमा केन्द्रित गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्नेहरूले दाबी गरेका थिए । 
आगामी दिनमा यसबारेमा गम्भीरतापूर्वक ध्यान दिएर अहिलेको अवस्थामा सुधार ल्याउनसमेत उनीहरूले माग गरेका छन् । 
“कतिपय देशहरूले आफ्ना अधिकांश नागरिकलाई खोप लगाएर अहिले महामारी नियन्त्रणको अवस्थामा पुगेका छन्, तर कतिपय देशहरूले भने पर्याप्त खोप पाएका छैनन्, जसले गर्दा देशको स्वास्थ्य प्रणाली दयनीय अवस्थामा रहेको छ, यो धेरै गम्भीर विषय हो,” नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गले भने ।  उनले थपे, “अफ्रिकी मुलुकहरूमा २० मध्ये एक जनाले मात्रै खोप पाएका छन् भने युरोपेली मुलुकहरूमा दुईमध्ये एक जनाले खोप पाएका छन, यस्तो असमानता स्पष्ट रूपमा नराम्रो हो ।”
महासभामा दक्षिण अफ्रिका, बोट्स्वाना, अङ्गोला, बुर्किना फासो, लिबियालगायतका देशका नेताहरूले पनि खोपको असमान वितरणका बारेमा आवाज उठाएका थिए ।   विश्वमा आगामी वर्ष सन् २०२२ मा कोरोनाभाइरस विरुद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए ।  संयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा ७६औँ महासभा चलिरहेको छ भने विश्व नेताहरूको उल्लेख्य सहभागिता रहेको छ ।–एपी
  
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार