अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन  गलत : मर्केलको दल 

सोमबार, साउन ३२, २०७८

बर्लिन । अफगानिस्तानबाट बिनातयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ‘सबैभन्दा ठूलो भूल’ भएकोे जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले बताएका छन् ।  उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा लिएपछि सीडीयू पार्टीका प्रमुख आर्रिन लाश्चेटले भन्नुभयो, ‘अन्तरराष्ट्रिय समुदायको यो सहभागिता सफल भएन भन्ने कुरा स्पष्ट छ ।’  ‘यो नेटोले आफ्नो स्थापना कालदेखि नै भोगेको सबैभन्दा गम्भीर परिणाम हो र हामी नयाँ विकासक्रमको परिवर्तनलाई हेरिरहेका छौँ ।’
सेप्टेम्बरको निर्वाचनपछि मर्केलको चान्सलर पदको उत्तराधिकारी बन्ने प्रबल सम्भावना रहेका सीडीयूका उम्मेदवार लाशेटले भने, ‘जर्मनीको अहिलेको प्रमुख ध्यान अफगानिस्तानबाट जर्मन सैनिकको उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ ।’ उनले भने, ‘तर हामी यस उद्धार मिसनपछि प्राप्त कारणहरू र निष्कर्षका बारेमा कुरा गर्नेछौँ ।’ 
जर्मनीमा, हाम्रा सहयोगी र अन्तरराष्ट्रिय समुदायमा गल्तीहरूबारे विश्लेषण गर्न कुनै रोक नलगाइएको उहाँले बताउनुभयो । 

नेटोका लागि काम गरेका दोभासे विस्थापित 
तालिबान लडाकूहरूले देशका विभिन्न क्षेत्रमा नियन्त्रण कायम गरी राजधानी काबुलमा प्रवेश गरेपछि उनीहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने तयारी थालेका छन् ।  तालिबानले अफगानिस्तानलाई इस्लामिक राज्य घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । 
बीस वर्ष पहिले तालिबानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिबान समूहको निशाना बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तालिबानको डरका कारण देशका विभिन्न स्थानबाट हजारौँ मानिसहरू भागेका छन् ।
अमेरिका, बेलायतलगायत युरोपेली मुलुकहरूले आफ्ना नागरिकलाई काबुलबाट फिर्ता गर्ने तयारी गरिरहेका छन् भने कतिपय एसिया, मध्यपूर्वलगायतका सीमा क्षेत्रका नागरिकहरू पनि आफ्नो सरकारले फिर्ता गर्ने पर्खाइमा रहेका छन् । 
यसैबीच नेटो सेनाका लागि २० वर्षदेखि काम गरेका दोभासेहरूका लागि तालिबानको सत्तारोहण चिन्ताको विषय हुन पुगेको छ । 
तालिबानले उनीहरूलाई देशद्रोहीका रूपमा हेर्नेगरेको छ । नेटो सैनिकको अफगानिस्तानबाट फिर्तासँगै उनीहरूले तालिबानको निशाना बन्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । दोभासेहरूले आफूलाई बेलायत स्थानान्तरण गर्ने विषयमा स्पष्टता होस् भनेर अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । बेलायतले यस पहिले नै दोभासेको काम गरेका कम्तीमा एक हजार ८०० अफगान र उनीहरूका परिवारलाई बेलायत प्रवेश गर्न दिइसकेको छ । 

अफगानी सम्पत्तिमा तालिबानलाई पहुँच नदिइने 
अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले बताएका छन् । तालिबानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, ‘अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिबानलाई उपलब्ध गराइने छैन ।’ अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार तीमध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ । संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन । 

इस्लामिक राष्ट्र घोषणा गर्ने  तालिवानको तयारी  
अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी देश छोडेर कहाँ गएका हुन् भन्ने विषयमा केही बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन ।  अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गरेका छन् । 
अफगानिस्तानका राजधानीतर्फ तालिवानी विद्रोहीहरुले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरुपमा तालिबानीहरुलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।  तर त्यसअगावै राष्ट्रपति घानीले देश छोड्नुभएको बताइएको छ । आइतबार राति नै तालिबानीहरु काबुलस्थित राष्ट्रपति निवासमा प्रवेश गरेका छन् । 
आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरुबीच शुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको थियो ।  वार्तामा तालिबानीहरुलाई वैधानिकरुपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरुले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् । तालिबानहरुले आफ्ना लडाकूहरुलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनहरु काबुल आएका हुन् ।
यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कफ्र्यू आदेश जारी गरिएको बताइएको छ । आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।
त्यसैगरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफँै पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरुले भने कसैसँग बदला नलिने भन्दै आफूहरुसँग नडराउन भनिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार