Dashain Banner
Dashain Banner

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

मंगलबार, कात्तिक ३, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन् । उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे ।  सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए । सीमा नियन्त्रण कडा पार्न र आफूले अपराधी भनेर वर्णन गरेका व्यक्तिहरूलाई देशबाट निष्कासन गर्न असफल भए युरोपेली देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिए । ‘फ्रान्समा जे भइरहेको छ, त्यो अत्यन्त दुःखद अवस्था हो । किनभने त्यहाँ भइरहेको घटनाको सम्बन्ध आप्रवासनसँग छ, विद्यालयसँग होइन, अरू कुनै कुरासँग होइन। यो आप्रवासनकै विषय हो,’ ट्रम्पले भने । उनले थपे कि फ्रान्समा थप अशान्ति हुन नदिन आफूले यसअघि नै राष्ट्रपति म्याक्रोंलाई देशको सीमा बन्द गर्न सल्लाह दिएका थिए । ‘मैले राष्ट्रपति म्याक्रोंलाई आफ्नो सीमा बन्द गर्न भनेको थिएँ। पहिलो कार्यकालमा, वर्षौँअघि उहाँलाई पहिलो पटक भेट्दा नै यस्तो भनेको थिएँ । आफ्नो सीमा बन्द गर्नुहोस्, नत्र तपाईंले समस्याबाहेक केही पाउनुहुने छैन । अहिले उनीहरूले धेरै समस्या भोगिरहेका छन् । उनीहरूले आफ्नो देशलाई माया नगर्ने, त्यहाँका भवन र कलालाई माया नगर्ने मानिसहरूलाई देशभित्र प्रवेश गर्न दिएका छन्,’ ट्रम्पले भने । म्याक्रोंसँगको आफ्नो सम्बन्धबारे उल्लेख गर्दै ट्रम्पले फ्रान्सेली राष्ट्रपति आफ्नो मित्र भएको तर विश्वभरका मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिएर उनले गल्ती गरेको बताए । ‘इमानुएल मेरा मित्र हुन्। मैले उनलाई धेरै पहिले नै फ्रान्समा ठूलो गल्ती गरिरहनुभएको छ भनेको थिएँ । तपाईंले संसारभरका सबै मानिसलाई आउन दिइरहनुभएको छ। पूरै संसार नै आइरहेको छ,’ उनले भने । ‘र, तपाईंलाई थाहै छ, पेरिस चाँडै नै मुस्लिम सहर बन्नेछ। त्यो त सहमति भएको कुरा थिएन । त्यो हाम्रो सहमति थिएन । मैले इमानुएललाई आफ्नो सीमा बन्द गर्नुपर्छ भनेको थिएँ,’ ट्रम्पले थपे । युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले महादेशभरिका देशहरूले सीमा नियन्त्रण बलियो बनाउनुपर्ने र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई देशबाट हटाउनुपर्ने चेतावनी दिए । फ्रान्स, इटाली र अन्य युरोपेली देशहरूमा भइरहेको अशान्तिको उदाहरण दिँदै ट्रम्पले आप्रवासनप्रतिको आफ्नो आलोचना दोहोर्याए । फ्रान्समा निरन्तर अशान्ति भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । हिंसात्मक घटना र लुटपाटपछि फ्रान्सेली अधिकारीहरूले विभिन्न क्षेत्रमा रातिको समयमा आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेका छन् । बोर्दो सहरको केन्द्रमा सप्ताहन्तमा व्यापक लुटपाट र हिंसा भएपछि स्थानीय अधिकारीहरूले साथमा अभिभावक नभएका नाबालिगहरूका लागि एक सातासम्म रातिको कफ्र्यु लगाउने घोषणा गरेका छन्।-एएनआइ

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार