Dashain Banner
Dashain Banner

फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ 

सोमबार, कात्तिक २, २०८३

पेरिस । फ्रान्सको राजधानी पेरिस र अन्य प्रमुख सहरहरूमा आन्दोलन जारी छ । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध भएका प्रदर्शनमा शनिबार ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक झडपसमेत भएको थियो । फ्रान्सेली सञ्चारमाध्यमका रिपोर्टअनुसार, उक्त प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य तथा विद्यार्थीहरू सहभागी भएका थिए ।  उनीहरूले इन्धनको मूल्य, जीवनयापनको लागत, शिक्षा र सार्वजनिक सेवासम्बन्धी विभिन्न मागहरू अघि सारेका थिए । फ्रान्स सरकारले सन् २०२७ को बजेट प्रस्ताव अघि बढाएपछि प्रदर्शन थप चर्किएको हो । उच्च सार्वजनिक ऋण र ठूलो वित्तीय घाटाको सामना गरिरहेको सरकारले राजस्व वृद्धि र सरकारी खर्च कटौतीमार्फत सार्वजनिक वित्तीय अवस्था सुधार गर्ने योजना बनाएको छ । प्रस्तावित उपायहरूले नागरिकको क्रयशक्तिमा असर पार्ने तथा सार्वजनिक सेवाहरूमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सर्वसाधारणमा चिन्ता बढेको छ ।  यसैबीच, जारी रुस–युक्रेन युद्ध, मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय ऊर्जा बजारको अनिश्चितताले फ्रान्सेली अर्थतन्त्रमा थप दबाब सिर्जना गरिरहेका छन् । एक प्रदर्शनकारीले भने, ‘व्यक्तिगत रूपमा भन्नुपर्दा, मलाई खासै समस्या भएको छैन, किनभने मेरो राम्रो जागिर छ र आम्दानीले खर्च धान्छ । तर धेरै मानिसहरूका लागि यो वास्तवमै ठूलो समस्या हो । युद्धका कारण पेट्रोलजस्ता केही स्रोतहरूको मूल्य निश्चित रूपमा बढेको छ । आफ्नो आवतजावतका लागि कारमा निर्भर रहने मानिसहरूका लागि सबै प्रकारका ऊर्जाको मूल्य बढिरहेको छ ।’ अर्का प्रदर्शनकारीले भने, ‘यस गर्मीयाममा मैले धेरैपटक गाडी लिएर जाने कि नजाने भनेर सोचें । बारम्बार हिसाब गर्दा अन्ततः इन्धनको खर्च धान्न नसक्ने भएकाले यात्रा गर्ने योजना नै रद्द गरें । म त कारमा खासै निर्भर पनि छैन । म पेरिसमा बस्छु र सार्वजनिक यातायात प्रयोग गर्न सक्छु । तर पेरिसबाहिर बस्ने र आवतजावतका लागि आफ्नै कारमा निर्भर रहने मानिसहरूका लागि अवस्था निकै कठिन छ ।” अर्का एक प्रदर्शनकारीले भने, ‘जे भए पनि, सार्वजनिक सेवाहरूको अवस्था पहिलेदेखि नै अत्यन्त नाजुक छ । विद्यालय, अस्पताल र न्याय प्रणाली—सबै क्षेत्रमा यही समस्या छ । यो सबैका लागि दुःस्वप्नजस्तै अवस्था हो।’ प्रदर्शनका क्रममा सार्वजनिक भवन, प्रहरी चौकी तथा व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड र आक्रमणका थुप्रै घटना भएको खबर आएको थियो । फ्रान्सको गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, हिंसात्मक घटनासमेत भएका प्रदर्शनका क्रममा कुल २ हजार ३९७ जना पक्राउ परेका थिए । त्यस्तै, ९९७ जना प्रहरी अधिकारी तथा जाँदार्म (फ्रान्सको राष्ट्रिय सुरक्षा बल) घाइते भएका थिए, जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको थियो ।-सीसीटीभी प्लस

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार