सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विस्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण परिचित रसेलको आगमनसँगै विराटनगर किंग्सले आगामी सिजनका लागि आफ्नो टोलीलाई थप मजबुत बनाएको छ । वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई टि ट्वान्टी क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ । दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उनले आफ्नो आक्रामक खेलशैलीमार्फत विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका छन् । उनको उपस्थितिले विराटनगर किंग्सको ब्याटिङ र बलिङ दुवै पक्षमा थप शक्ति प्रदान गर्ने अपेक्षा गरिएको छ । आन्द्रे रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेका थिए । उनले २०१२ मा श्रीलंकामा भएको आईसीसी पुरुष टि ट्वान्टी विश्वकप जित्ने वेस्ट इन्डिज टोलीको सदस्यका रूपमा पनि सफलता हासिल गरेका थिए । २०१६ मा भारतमा भएको टि ट्वान्टी विश्वकप जित्दा पनि उनी वेस्ट इन्डिज टोलीका महत्त्वपूर्ण सदस्य थिए । रसेल इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सका लागि लामो समयदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । विशेषगरी डेथ ओभरमा आक्रामक ब्याटिङ गर्ने, छक्का प्रहार गर्ने र महत्त्वपूर्ण समयमा विकेट लिने क्षमताका कारण उनी फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), बिग बास लिग (बिबिएल) लगायत विभिन्न अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन् । ‘आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडीलाई विराटनगर किंग्सको परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । उनको अनुभव, विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङले हाम्रो टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौँ । यस सिजन हाम्रो लक्ष्य केवल प्रतिस्पर्धा गर्नु मात्र होइन, उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्नु हो। रसेलको आगमनले हाम्रो टोलीमा आत्मविश्वास, ऊर्जा र जितको भोक थप्नेछ । हामी विराटनगरका समर्थकलाई गर्व गर्ने अवसर दिन चाहन्छौँ,’ विराटनगरको विश्वास छ । विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा उत्साहित रहेको बताउँदै रसेलले नेपाली क्रिकेट समर्थकहरूमाझ आफ्नो खेल प्रदर्शन गर्न आतुर रहेको बताए । ‘एनपीएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । नेपाली क्रिकेट समर्थकहरूको जोश र माया अनुभव गर्न म आतुर छु। मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै समर्थकहरूलाई मनोरञ्जन दिनु र विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु मेरो मुख्य लक्ष्य हुनेछ’, उनले थपे, ‘नेपालमा क्रिकेटप्रति समर्थकहरूको जुन किसिमको क्रेज र माया छ, त्यसलाई नजिकबाट अनुभव गर्न म निकै उत्साहित छु । नेपाली समर्थकहरूसामु खेल्नु र उनीहरूको ऊर्जा महसुस गर्नु मेरा लागि विशेष अनुभव हुनेछ। म विराटनगर किंग्सका समर्थकहरूलाई उत्कृष्ट क्रिकेटको रोमाञ्चकता दिन र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु ।’