सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २ सय ३२ रनमा अलआउट भयो । नेपालका लागि अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । आफ्नो सातौं खेलमा अर्जुनले पहिलो अर्धशतक पूरा गरे । अर्जुनले १ सय १२ बलमा ४ चौका प्रहार गरे । आसिफ शेखले २१ बलमा २०, इशान पाण्डेले २९ बलमा २१ र रोहित पौडेलले २९ बलमा १८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २७ तथा गुलशन झाले १९ बलमा २१ रन जोडे । करण केसी १४ बलमा १७ रन बनाउँदै अविजित रहे । बासिर अहमदले ६, सन्दीप लामिछानेले १ र नन्दन यादवले खाता खोल्न सकेनन् । क्यानडाका लागि सुखजिन्दर सिंहले ३ तथा कलीम साना,शील पटेलले समान २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । क्यानडाका युवराज सामराले १ सय १७ बलमा ११ चौका र ४ छक्कासहित १ सय ५ रनको शतकीय इनिङ खेले । आरोन जोन्सनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समीत गोहेलले १७ रन बनाए । नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए । आजको नतिजापछि क्यानाडा अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। नेपाल भने सातौं स्थानमा झरेको छ । छैटौं स्थानमा लिग टुको अन्त्य गर्न नेपालले दुई दिनपछि आयोजक ओमानलाई हराउनुपर्ने हुन्छ ।