सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सभामुख डीपी अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले भोगिरहेको विपद् र जलवायु परिवर्तनका असरलाई अन्तर्राष्ट्रियस्तरमा जोडदार रूपमा उठाउने बताएका छन् । आईपीयू महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्नुअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्यालले नेपाल कार्बन उत्सर्जनमा नगण्य भूमिका हुँदाहुँदै पनि जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने बताए । उनले भने, ‘नेपालको अहिलेको महाविपत्ति, जुन महाप्रलय छ, त्यसलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा संसारलाई देखाउने, बुझाउने र सुनाउने यो साँच्चै नै हाम्रो लागि मौका हो ।’ उनका अनुसार आईपीयू संसारभरका १८३ देशका संसद्को प्रतिनिधित्व हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो। त्यहाँ विश्वभरका सभामुख तथा सांसदहरूको सहभागिता हुने भएकाले नेपालले आफ्ना विषयहरू अन्तर्राष्ट्रिय बहसमा लैजान सक्ने अवसर प्राप्त हुने उनले बताए । सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको विषयमा विश्वका सभामुख तथा सांसदहरूको ध्यानाकर्षण गराउने बताए। उनले भने, ‘संसारका सभामुखहरूलाई, सांसदहरूलाई ती सदनमा यो बहस उठ्योस् क्लाइमेट चेन्जको विषयमा भनेर त्यो महत्त्वपूर्ण फोरम हो ।’ उनले आईपीयू महासभामा नेपालले एउटा इमर्जेन्सी एजेन्डासमेत प्रस्तुत गर्ने तयारी गरेको जानकारी दिए। उक्त प्रस्ताव स्वीकृत भएमा त्यसलाई जनरल डिबेटमा लैजाने प्रयास गरिने उनले बताए । ‘हामी इमर्जेन्सी एजेन्डाको रूपमा एउटा प्रस्तुत गर्दैछौँ यो वर्ष। जुन आईपीयूको इतिहासमा एउटा नेपालले गर्ने एउटा नयाँ प्राक्टिस हो,’ उनले भने, ‘त्यो एजेन्डा यदि पास भयो भने हामी त्यसलाई जनरल डिबेटमा लिएर गएर एउटा महत्त्वपूर्ण विषय, जुन आईपीयूकै एजेन्डाकै रूपमा हामीले राख्छौँ ।’ सभामुख अर्यालले उक्त विषयमा परराष्ट्र मन्त्रालयसँग समेत संवाद भइरहेको बताए। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विषय सुनाउन सकेपछि मात्रै त्यसमा अन्तर्राष्ट्रिय बहस सुरु हुने उनको भनाइ थियो । उनले भने, ‘सुनाउनु सबभन्दा पहिला इम्पोर्टेन्ट हो भन्ने मेरो बुझाइ छ। सुनिसकेपछि त्यसमा बहस सुरु हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’ सभामुख अर्यालले संसद् कमजोर भएको आफूले महसुस नगरेको पनि बताए। उनले संसद् सांसदहरूले बोल्ने र जनताका विषय उठाउने थलो भएकाले सबै दललाई मुद्दामा केन्द्रित भएर छलफल गर्ने अवसर दिइएको बताए । उनले भने, ‘मलाई चाहिँ के लाग्दैन भने संसद कमजोर भएको महसुस मैले गरेको पटक्कै छैन।’ सभामुख अर्यालले सत्तापक्ष र प्रतिपक्षले मुद्दामा केन्द्रित भएर छलफल गरेको आफ्नो अनुभव रहेको बताए। उनका अनुसार प्रत्येक दलका शीर्ष नेताहरूलाई महिनामा दुई पटकसम्म रोस्टमबाट जनताका विषय राख्ने अवसर दिइएको थियो । नयाँ संसद् भवनमा सर्ने विषयमा पनि सभामुख अर्यालले आगामी संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभा नयाँ भवनबाट सञ्चालन हुनेमा आफू ढुक्क रहेको बताए। निर्माण कार्य समयमा सम्पन्न हुन नसके सम्बन्धित निकायले जरिवाना लगाउनुपर्ने आफ्नो धारणा रहेको उनले बताए । उनले भने, ‘हाम्रो विकासमा, कुनै पनि निर्माण, विकास निर्माणमा चाहिँ समयमा हुनुपर्छ भन्ने मेरो भाष्य हो र त्यसलाई जरिवाना लगाउनुपर्ने निकायले जरिवाना लगाओस् भन्ने मेरो सुझाव पनि हो ।’ सरकारका काम र संसद्को भूमिकाका विषयमा सभामुख अर्यालले कार्यपालिकालाई झक्झक्याउने जिम्मेवारी सांसद, नागरिक र पत्रकार सबैको भएको बताए ।