सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडाले भोटेकोशी बाढी प्रभावितका लागि सहयोगका लागि संकलन गरेको रकम बागमती प्रदेश सरकारको मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गरेको छ । वडा नं. २४ ले केहीदिन अघि सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गरी वडावासीलाई भोटेकोशी बाढी प्रभावितको सहायताका लागि राहत संकलन अभियान सुरु गरेको थियो । उक्त अभियानमार्फत् संकलन भएको सहायता रकम आज शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । वडाअध्यक्ष दिनेश जंग पाण्डेले जनप्रतिनिधि, महिला समूहका प्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दाका बीच संकलित रकम मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गरेको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय बाणिज्य बैंकमा रहेको मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषको खातामा रकम जम्मा गरिएको भौचर पनि सार्वजनिक गरिएको छ । २४ नं. वडाका वडाअध्यक्ष पाण्डेका अनुसार आर्थिक सहयोग स्वरुप चार लाख, ६६ हजार ७० रुपैयाँ उक्त कोषमा जम्मा गरिएको छ । पत्रकार सम्मेलनमा वडाअध्यक्ष पाण्डेले आर्थिक सहयोग गर्ने मनकारीहरूको नामावली पढेर सुनाएका थिए । त्यसैगरी पत्रकार सम्मेलनमा वडा नंं. २४ मा क्रियाशील नयाँ आशा ग्रुपको अगुवाईमा संकलन भएको राहत सामग्री (जिन्सी सामग्री) पनि नुवकोटमा पुर्याएर हस्तान्तरण गरिएको पनि जानकारी दिइएको छ । जिन्सी सामग्रीमा दाल, चामल, तेललगायतका सामग्री छन् । वडा अध्यक्ष पाण्डेले प्राकृतिक विपत्तिमा सहयोग गर्न सबैको कर्तव्य भएको बताए । वडाबासीको सहयोग गर्ने भाव र चाहनामा वडाले नेतृत्व लिएको उनले प्रष्ट पारे । सहयोग स्वरुप संकलन गरेको रकमको सदुपयोग हुनेमा आफू विश्वस्त भएको उनले बताए । प्रदेश स्तरीय राहत कोषमा किन रकम जम्मा गर्नु भयो भन्ने पत्रकारको प्रश्नमा वडाअध्यक्ष पाण्डेले जहाँ जम्मा गरे पनि यो सहयोगको प्रयोगकर्ता भोटेकोशीका बाढी प्रभावित भएकाले कहाँ जम्मा गरिएको भन्ने प्रश्न महत्वपूर्ण नभएको प्रष्ट पारे । उक्त रकम वाडवासी, जनप्रतिनिधि, वडामा रहेका संघसंस्था, महिला समूह , व्यक्तिहरुले उपलब्ध गराएका हुन् ।
तीज पर्व मनाउन छुट्याइएको रकम पनि कोषमा जम्मा गर्ने त्यसैगरी गरी ललितपुर महानगर २४ नंं. वडा कार्यालयले हिन्दु महिलाहरूको ठूलो चाड तीज पर्व मनाउनका लागि छुट्याएको रकमबाट एक लाख ५० हजार रुपैयाँ समेत उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको छ । वडाअध्यक्ष पाण्डेले आवश्यक प्रक्रिया पूरा गरेर एक लाख ५० हजार रुपैयाँ पनि उक्त कोषमा जम्मा गर्ने बताए । उनले भने, ‘बाढीको चपेटामा परेका दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरुलाइ सहयोग गर्नुपर्ने दायित्व हो, त्यसैले तीज खर्चका लागि छुट्याइएको रकमबाट एक लाख ५० हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गर्यौं ।’ पत्रकार भेटघाट कार्यक्रममा वडासदस्यहरू निशा मालबुल, उद्धव बस्नेत, हरिकृष्ण महर्जन उपस्थित थिए ।