भोटेकोशी बाढी प्रभावित बालबालिकालाई गोदावरीको बालमन्दिरमा राखिने  

नगर प्रमुख भन्छन्,  ‘यो स्थानीय तहको जिम्मेवारी हो’
शुक्रबार, भदौ १९, २०८३

बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकासँग समन्वय गरेर संघीय सरकारले पालिकाको वडा नं. १२ ठेचोमा रहेको बालमन्दिरमा भोटेकोशी बाढी प्रभावित केही बालबालिकालाई बसोबासको व्यवस्था मिलाएको छ ।  महिला,बालबालिका,लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले पालिकामा रहेको बालमन्दिर भोटेकोशी बाढी प्रभावित बालबालिकाको लागि व्यवस्था गर्ने सम्बन्धमा नगर प्रमुख गजेन्द्र महर्जनसहितका प्रतिनिधिसँग छलफल गरेपछि संघीय सरकारले यो व्यवस्थापन गर्न लागेको हो ।   राष्ट्रिय  बाल अधिकार परिषद्को समन्वयमा भएको बैठकमा नगर उपप्रमुख मुना अधिकारी, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नंं. १०का वडा अध्यक्ष शेखर न्यौपाने, वडा नं. १२ का अध्यक्ष जगतबहादुर महर्जन तथा प्रमुख प्रशासकीय अधिकारी मानबहादुर खड्का सहभागी भएका थिए । नगरप्रमुख सहितको प्रतिनिधिमण्डलसँग भेट गरे लगत्तै मन्त्री वादीले बिहीबार नै उक्त स्थानको स्थलगत अनुगमन समेत गरेकी थिइन् ।  नगर प्रमुख गजेन्द्र महर्जनले यो विपत्तिको बेला पालिका रहेको बालमन्दिरमा प्रभावित बालबालिकाको बसोबासको व्यवस्था मिलाउनु स्थानीय तहको जिम्मेवारी भएको बताए । उनले भने,‘ हामीले प्रभावित बालबालिकालाई अभिभावकत्व प्रदान गरेका हौं ।’ नगर प्रमुख महर्जनले यसलाई अस्थायी संरक्षण केन्द्रको रुपमा व्यवस्थित गर्ने बताए । नगरपालिकाले अहिले उक्त ठाउँको सरसफाई र भवनको मर्मत गरिरहेको छ ।  नगर उपप्रमुख मुना अधिकारीले बाढी प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाको विषयलाई संघीय सरकारसँग समन्वय गरेर उत्कृष्ट र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।  सामाजिक विकास समितिका संयोजक शेखर न्यौपानलेले संघीय सरकारसँग समन्वय गरेर यस अस्थायी संरक्षण केन्द्रको भौतिक संरचना पुनर्निर्माण र थप व्यवस्थित गर्न तत्काल अघि बढ्ने बताए ।  उनले भने, ‘नगर प्रमुखले यस केन्द्रलाई देशकै नमूना अस्थायी बाल संरक्षण केन्द्रको रुपमा विकास र व्यवस्थित गर्न संघीय सरकारसँग समन्वय र सहकार्यका लागि अघि बढौं भन्नुभएको छ , हामी त्यसै अनुसार अघि बढ्छौं । ’ केही दिनमा नै यहाँको सरसफाई मर्मतको काम पुरा हुने जानकारी दिदैं मन्त्रालयसँग समन्वय गरेर थप प्रक्रिया अघि बढाउने उनले प्रष्ट पारे ।

g6-1788499507.jpeg
g5-1788499507.jpeg
g4-1788499508.jpeg
g3-1788499508.jpeg
 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार