सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चैते दशैंको अवसरमा ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्राका लागि तयारी करिब पूरा भएको छ । काठमाडौंको तीनधारा पाठशाला क्षेत्रमा जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । रथ निर्माणमा संलग्न रकमी नाइके कारीगर पूर्णमान महर्जनका अनुसार यो जात्रा परम्परागत रूपमा अष्टमीदेखि सुरु भई नवमी र दशमीसम्म तीन दिन विशेष रूपमा मनाइन्छ । उनका अनुसार चैते दशैं अन्तर्गत रामनवमीको अघिल्लो दिनदेखि जात्रा प्रारम्भ हुने चलन रहेको छ । ‘मैले ४६ वर्ष भयो । ०३७ सालदेखी निरन्तरण गरिरहेको छु । किनभने हाम्रो पुर्खौंदेखि गरिरहेको भगवानको सेवा, यो संस्कृति बचाउनको लागि गर्नुपर्छ,’ उनले भने । महर्जनले सेतो मच्छिन्द्रनाथलाई सबै जीवप्रति करुणा राख्ने देवताको रूपमा मानिने भएकाले ‘करुणामय’ भनेर चिनिने बताए । उनले रथ निर्माण प्रक्रिया निकै जटिल र समयसापेक्ष हुने उल्लेख गर्दै करिब आठ दिनअघि नै खचा, पाङ्ग्रा तथा संरचनात्मक भाग जोड्ने काम सुरु गरिने जानकारी दिए । रथ मजबुत बनाउन प्रयोग गरिने ‘बेथ’ अर्था त डोरी विशेष सामग्री आसामबाट ल्याइने र त्यसले रथको बलियो संरचना सुनिश्चित गर्ने उनले बताए । ‘हाम्रो यो परम्परादेखी चलिआएको अष्टमीको दिनदेखी सुरु हुन्छ । खासगरी तीन दिनको जात्रा हो अष्टमी, नवमी र दशमी । यो परम्परादेखी चलि आएको चैते दशैको दिन राम नवमीको अघिल्लो दिन अष्टमीको दिनदेखी सुरु हुन्छ, उनले भने, हाम्रो पुर्खौंदेखी गरिआएको जात्रा हाम्रो ८ दिन अगाडी खचा, पाङग्रा र टठ सिस्ना जोड्ने दुईदिन प्रदिपलाई दिने तीन दिनदेखी बेथ बाँध्नुपर्छ । बेथ यहाँ पाउँदैन आसामबाट ल्याउनुपर्छ । रथ बलियो हुने यही बेथ (डोरी) ले हो । आज बेथ बाध्ने काम सम्पन्न भएपछि भोली बाँस राख्ने भनेको सकभर आजै बाँस राखौं भन्ने हो । १० दिनमा कहिलेकाही तिथिअनुसार ७ दिन पनि पर्छ हाम्रो ८ दिनमा जसरी पनि सिध्याउनुपर्ने हुन्छ ।’ उनका अनुसार सप्तमीमा बेथ बाँध्ने कार्य सम्पन्न गरी अष्टमीका दिन जनबहालबाट देवता निकालेर तीनधारा ल्याइन्छ । त्यसपछि विधिपूर्वक पूजा, सजावट तथा विभिन्न धार्मिक प्रक्रियापछि रथयात्रा सुरु गरिन्छ । विगतमा पशुबलि दिने परम्परा रहे पनि अहिले भने त्यसको सट्टा नगद अर्पण गर्ने चलन रहेको छ । जात्राको क्रममा रथ असन, हनुमानढोका हुँदै लगनसम्म पुर्याइन्छ । लगन क्षेत्रमा सेतो मच्छिन्द्रनाथकी आमाको प्रतीक स्थानमा तीन चक्र परिक्रमा गरेपछि जात्रा सम्पन्न हुने परम्परा छ । त्यसको भोलिपल्ट स्थानीयले देवतालाई पुनः खटमा राखेर बहाल फर्काउने गर्छन् । शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्थासँगै मौलिक सीप, परम्परागत प्रविधि र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा परिचित छ । काठ र बेथ (डोरी) प्रयोग गरी निर्माण गरिने रथले आधुनिकताको बीचमा पनि परम्परागत शिल्पकलालाई जोगाइराखेको छ । स्थानीयवासीको श्रमदान, गुठी संस्थानको सहयोग र समुदायको सक्रिय सहभागिताले यस जात्रालाई धार्मिक उत्सवसँगै सामाजिक एकताको बलियो प्रतीक बनाएको छ । साथै, पर्यटन तथा सांस्कृतिक सम्पदाको दृष्टिले पनि महत्वपूर्ण मानिने यस जात्राले काठमाडौंको मौलिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तासम्म परम्परा हस्तान्तरण गर्ने काम गरिरहेको छ ।