सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरले झिँगटी लगाउने सीप संरक्षण र हस्तान्तरण गर्न त्यस सम्बन्धी तालिम आयोजना गरेको छ । झिँगटी प्रायः जसो मन्दिर, फल्चा र सम्पदामैत्री भवनमा प्रयोग गरिन्छ । जेठ ३० गतेसम्म संचालन हुने तालिममा ललितपुर महानगरका २९ वटै वडाका कर्मीहरु सहभागी छन् । ह्याबिट्यास क्रियसनसँगको सहकार्यमा महानगरले तालिम आयोजना गरेको हो । प्रशिक्षकहरुले तालिमका प्रशिक्षार्थीहरुलाई झिँगटी छाना निर्माण गर्दा जडान गर्नुपर्ने सालको काठको धलिं ,मुसिं जडान गर्ने तरीका, माटो मुछ्ने र भिजाउने लगायतका सीप सिकाउने छन् । उक्त तालिम उद्घाटन कार्यक्रममा महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले झिँगटी लगाउने सीप संरक्षण र हस्तान्तरण गर्न महानगरले तालिम आयोजना गरेको बताइन् । आधुनिक घरहरुको निर्माणका कारण झिँगटी लगाउने सीप भएका जनशक्तिको अभाव हुँदै गएको उनको भनाई थियो । सम्पदाले सम्पन्न पालिकाहरुले तालिम प्राप्त जनशक्तिको सीपलाई प्रयोग गर्नुपर्ने बताउँदै त्यसका लागि महानगरले पहल गर्ने बताइन् ।
ललितपुर महानगर शहरी व्यवस्थापन महाशाखाका प्रमुख सि.डि. इन्जिनियर श्रीकुमार महर्जनले झिँगटीको छाना वास्तुकलाको मुख्य विशेषता भएको बताउँदै सम्पदा शहरले यसको संरक्षण गर्नु अत्यावश्यक भएको प्रष्ट पारे । उनले भने , ‘वडैपिच्छे झिँगटी लगाउने दुई, तीन जना जनशक्ति तयार बनाउनुपर्छ ।’ अहिले बजारमा यो सीप भएका जनशक्ति एकदमै कम छन् । शहरी विकास समितिका सदस्य एवम् वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्काले झिँगटी लगाउने सीप भएका जनशक्ति तयार पार्न यो तालिम महत्वपूर्ण हुने बताए । यो सीप सिकेका र जानेका जनशक्तिलाई कामको खाँचो नहुने बताउँदै ज्ञान सधै महत्वपूर्ण हुने धारणा व्यक्त गरे । महानगर २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनले यस्ता तालिमले व्यक्तिलाई सिपालु बनाउने बताउँदै यसले झिँगटी लगाउने सीप भएकाको अभावलाई केही हदसम्म पूर्ति गर्ने बताए । प्रशिक्षार्थीहरुले झिँगटी लगाउने काम अहिले वडा नं. २७ स्थित भृङ्गारेश्वर महादेव मन्दिर अगाडिको फल्चामा गरिरहेका छन् । ह्याबिट्यास क्रियसनका इन्जिनियर पद्म सुन्दर महर्जनले सम्पदा संरक्षणका लागि प्रत्येक शहरले सीपयुक्त जनशक्ति तयार पार्नुपर्ने बताए । उनले भने, ‘त्यसको सुरुवात ललितपुर महानगरले गरेको छ,अन्य शहरहरुले पनि यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’ सिक्नु र सिकाउनुपर्ने काम धेरै भएकाले तालिम अवधि बढाउनुपर्ने भनाई उनको थियो । तालिममा प्रशिक्षकहरु रामेश्वर प्रजापति र रामचन्द्र छुवाजु छन् । उनीहरुले आफूले जानको सबै कुरा ललितपुरका प्रशिक्षार्थीहरुलाई सिकाउने र बुझाउने प्रतिबद्धता जनाए ।