कोशी पर्यटन वर्ष व्यवस्थित बन्दैछ, काठमाडौं केन्द्रित कूटनीति र सहकार्य विस्तार

'नयाँ मार्केटिङ मोडेलले कोशीका गन्तब्यलाई अन्तर्राष्ट्रिय तहमा ब्रान्डिङ गर्न सहज'

कोशी पर्यटन वर्षलाई उचाइमा पु¥याउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : कृष्ण शाह
सह–संयोजक

काठमाडौं । कोशी प्रदेश सरकार यतिबेला ‘कोशी पर्यटन वर्ष’को प्रचार प्रसारमा छ । ‘रमणीय कोशी’ भन्ने सन्देश तय गर्दै ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणामा ८२ पर्यटकीय गन्तव्यको सूची नै तयार गरिएको छ । ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूची बनाएर प्रदेश सरकार प्रचार अभियानमा छ । पर्यटन वर्षलाई प्रभावकारी, व्यवस्थित र दीर्घकालीन उपलब्धिमूलक बनाउने उद्देश्यले सरकारले उच्चस्तरीय निर्देशक समिति गठन गरी विभिन्न तहमा सक्रिय पहल थालेको छ । निर्देशक समिति काठमाडौं आएर नेपाल पर्यटन बोर्ड, केन्द्रीय व्यावसायिक संघ–संस्था, सिनेकर्मी तथा संघीय सरकारका सरोकारवाला निकायहरूसँग महत्वपूर्ण छलफल र समझदारी पनि गरिसकेको छ । यसै सन्दर्भमा रहेर नेपाल न्यूज बैंकले कोशी पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोजक कृष्ण शाहसँग गरेको कुराकानीमा उनले पर्यटकीय स्थलको प्रवद्र्धन र पर्यटन वर्षको प्रचारमा केन्द्रीत रहेको बताए । उनले निर्देशक समितिमा पर्यटनमन्त्री, मन्त्रालयका सचिव, पर्यटन क्षेत्रका प्रतिनिधि तथा निजी क्षेत्रका व्यवसायी सह–संयोजकहरू रहेका बताए । शाहका अनुसार काठमाडौंलाई केन्द्रमा राखेर प्रचार अभियान पनि सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डसँगको नयाँ समझदारीले कोशी प्रदेशको पर्यटन प्रवर्धन औपचारिक शुभारम्भ समेत भएको उल्लेख गरे । सोहीअनुसार नेपाल पर्यटन बोर्डसँग अन्तर्राष्ट्रिय तथा आन्तरिक बजार प्रवर्धनका लागि पेशागत सहयोगसम्बन्धी सम्झौता गरिएको बताए । सम्झौताअनुसार नेपाल पर्यटन बोर्डले कोशी प्रदेशका पर्यटन गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न, मानव संसाधनको क्षमता विकास गर्न तथा प्राविधिक र पेशागत सहयोग उपलब्ध गराउनेछ । निर्देशक समितिले यस समझदारीलाई कोशी पर्यटन वर्षका लागि ‘माइलस्टोन’ का रूपमा लिएको छ । त्यसैगरी संघीय संरचनाअन्तर्गत रहेका होटल संघ, ट्राभल एसोसिएसन, पर्वतारोहण संघलगायत सबै केन्द्रीय पर्यटन व्यवसायिक संस्थाका अध्यक्ष तथा सीईओहरूसँग पनि विस्तृत छलफल गरिएको छ । उनीहरूलाई कोशी प्रदेशका प्रमुख पर्यटन उपजहरूको जानकारी गराउँदै, आगामी दिनमा सेक्टोरियल आधारमा आइटिनेरी (पर्यटन मार्ग तथा प्याकेज) विकास गर्ने सहमति भएको छ । यसका लागि छुट्टाछुट्टै समझदारीपत्र तयारीको चरणमा रहेको शाहले जानकारी दिए । पर्यटन प्रवर्धनमा सिनेमा र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै निर्देशक समितिले चर्चित सिनेकर्मी, निर्माता, अभिनेता–अभिनेत्री तथा अभियन्ता पत्रकारहरूसँग पनि छलफल गरेको छ । पछिल्लो समय कोशी प्रदेशमा छायांकन गरिएका फिल्महरू सफल भएका उदाहरण प्रस्तुत गर्दै समितिले पूर्वी नेपाललाई ‘फिल्म डेस्टिनेसन’ का रूपमा विकास गर्न अनुरोध गरेको छ । सिनेकर्मीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएको र आगामी दिनमा कोशीलाई प्राथमिक छायांकन स्थल बनाउने प्रतिबद्धता व्यक्त गरेको शाहको भनाइ छ । काठमाडौं भ्रमणका क्रममा संघीय पर्यटन मन्त्रालयका मन्त्री र सचिवसँग भेटगरी पर्यटन क्षेत्रमा देखिएका संरचनागत, कानुनी र व्यवस्थापकीय समस्याहरूबारे ध्यानाकर्षण गराइएको पनि उनले जानकारी दिए । उनका अनुसार यस्ता विषय संघीय सरकारकै पहलमा एकीकृत रूपमा समाधान गर्नुपर्ने निष्कर्ष निकालिएको छ । ‘वन मन्त्रालयका सहसचिवसँग कोशी टप्पु वन्यजन्तु आरक्ष र वरपरका क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ,’ उनले भने । ‘यससम्बन्धी थप प्राविधिक छलफलका लागि वन मन्त्रालयको टोली पूर्व जाने तयारीमा रहेको छ ।’ शाहका अनुसार कोशी पर्यटन वर्ष मनाउनुका तीन प्रमुख उद्देश्यहरु छन् । पहिलो, पर्यटकीय गन्तव्यका स्थानीय बासिन्दामा पर्यटन चेतना अभिवृद्धि गरी त्यसलाई समृद्धिसँग जोड्नु । दोस्रो, प्रदेश संरचनाभित्र पर्यटन गतिविधिलाई संस्थागत र दिगो बनाउन स्पष्ट कार्यदिशासहितको संरचना निर्माण गर्नु । तेस्रो, पर्यटनसँग सम्बन्धित सबै सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु । प्रवर्धन र बजारीकरण यी उद्देश्यसँग जोडिएका सहायक गतिविधि भएको समितिको धारणा छ । ‘कोशी प्रदेश भौगोलिक रूपमा काठमाडौंभन्दा टाढा भए पनि चार देशसँग नजिक रहेको विशिष्टता बोकेको प्रदेश हो । यो प्रदेश बंगलादेश २९ किलोमिटर, भुटान करिब ५९ किलोमिटर दूरीमा रहेको छ भने भारतसँग खुला सीमाना र चीनसँग पनि पछिल्लो समय सडक सम्पर्क विस्तार हुँदै गएको छ,’ उनले भने । ‘यस भूराजनीतिक अवस्थालाई पर्यटनमार्फत अधिकतम उपयोग गर्ने रणनीति पर्यटन वर्षको महत्वपूर्ण आधार मानिएको छ ।’ संस्कृति र प्रकृतिका हिसाबले पनि कोशी प्रदेश अत्यन्तै समृद्ध भएको तथ्य उजागर गर्दै शाहले भने,‘यहाँ १०० भन्दा बढी जातजातिको बसोबास छ । जहाँ हिन्दु, किराँत र बौद्ध संस्कृतिको जीवन्त संगम देख्न सकिन्छ । खानपान, भेषभूषा, भाषा र संस्कृतिको विविधता नै प्रदेशको ठूलो शक्ति हो । प्राकृतिक दृष्टिले ८ हजार मिटरभन्दा अग्ला विश्वकै सर्वोच्च र तेस्रो सर्वोच्च शिखरसहित पाँच प्रमुख हिमाल, तराईका फाँट, कोशी टप्पु वन्यजन्तु आरक्ष, मध्यपहाडी सौम्य भूबनोट, चियाबारी, खोला–नाला र सुन्दर हिल स्टेशनहरू प्रदेशका आकर्षण हुन् ।’ प्रदेश सरकारले पछिल्लो समय मध्यपहाड केन्द्रित ट्रेल विकासलाई पनि प्राथमिकता दिएको छ । मुन्धुम ट्रेलले हालै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ भने फाल्गुनन्द ट्रेल, लालीगुराँस ट्रेल, चियाबारी ट्रेल र किरात (निशान) ट्रेल विकासको चरणमा छन् । इलामको सूर्योदय, कन्याम, फिक्कल, धरानको भेडेटार, राजारानी, भोजपुर र उदयपुर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरू पर्यटनको ठूलो सम्भावना बोकेका क्षेत्रका रूपमा चिनिएका छन् । यद्यपि, पर्यटन वर्ष घोषणा भएपछिको प्रारम्भिक चरणमा संरचना, कार्यविधि र कानुनी सुधारको अभावका कारण अपेक्षाअनुसार खर्च र गतिविधि अघि बढ्न नसकेको स्वीकारोक्ति पनि निर्देशक समितिले गरेको छ । करिब १० करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयन संयन्त्र नहुँदा पूर्ण उपयोग हुन नसकेको बताइएको छ । हालसम्म प्रचार सामग्री निर्माण, महोत्सव सहभागिता, क्षमता विकासका कार्यक्रम तथा भारतीय बजार केन्द्रित प्रवर्धन गतिविधि सञ्चालन भएका छन् । शाहका अनुसार हाल भइरहेको समन्वय, सहकार्य र समझदारीले अब कोशी प्रदेश पर्यटन वर्षलाई वास्तविक अर्थमा उचाइमा पु¥याउने आधार तयार भएको छ ।

कोशी प्रदेशलाई पर्यटनको केन्द्र बनाउने रणनीति
कोशी प्रदेशलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको सशक्त गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश सरकारले बहुआयामिक रणनीति अघि सारेको शाहले बताएका छन् । उनका अनुसार कोशी प्रदेश पर्यटन वर्षलाई दीर्घकालीन उपलब्धिसँग जोड्ने प्रयासमा प्रदेशले धार्मिक आस्था, साहसिक पर्यटन, बसोबास व्यवस्थापन, अन्तर्राष्ट्रिय बजार प्रवर्धन र टुरिजम डिप्लोमेसीलाई एकैसाथ अघि बढाएको छ ।

पाथीभरा करिडोरसहित धार्मिक पर्यटनमा जोड
कोशी प्रदेश धार्मिक आस्थाका दृष्टिले अत्यन्तै समृद्ध प्रदेश हो । यहाँ रहेका पाथीभरा देवी, हलेसी, बराहक्षेत्र, रामधुनी, अर्जुनधारा, शिवसताक्षी, बुढासुब्बा, दन्तकाली, माङसेबुङ, खुवालुङजस्ता स्थलहरू धार्मिक पर्यटनका प्रमुख आधार हुन् । विशेषगरी पाथीभरा देवीलाई केन्द्रमा राखेर ‘पाथीभरा करिडोर’ विकास गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । झापा जिल्लाको चारआलीदेखि ताप्लेजुङसम्म फैलिएको यस करिडोरमा चारआली नजिकको पाथीभरा, हर्कटे–कोल्बुङको सानी (कान्छी) पाथीभरा, इलामको पञ्चकन्या, ताप्लेजुङ बजार हुँदै मूल पाथीभरा देवीसम्म धार्मिक यात्रा सम्भव हुने शाहले बताए । यसले धार्मिक पर्यटकलाई एउटै यात्रामा बहुआयामिक आस्थाको अनुभव दिने अपेक्षा गरिएको छ । त्यस्तै, रामधुनीलाई विश्वामित्र ऋषिको आश्रम रहेको, शस्त्र र शास्त्र अध्ययनको प्राचीन केन्द्रका रूपमा प्रवर्धन गर्न खोजिएको छ । बराहक्षेत्रलाई ‘धर्तीको पहिलो धाम’का रूपमा चिनाउँदै धार्मिक पर्यटकको आकर्षण बढाउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

साहसिक पर्यटनको प्राकृतिक आधार
धार्मिक र सांस्कृतिक पर्यटनसँगै कोशी प्रदेश साहसिक पर्यटनका लागि पनि अत्यन्तै उपयुक्त रहेको शाहको भनाइ छ । तमोर ¥याफ्टिङ, धरान क्षेत्रको ¥याफ्टिङ, मोटरबोट, प्याराग्लाइडिङ, साइक्लिङ, क्लाइम्बिङ, झरनामा क्यानोनिङ तथा हिउँ परेको समयमा नागी क्षेत्रमा आइस स्केटिङको सम्भावनासमेत प्रदेशमा रहेको उनले बताए । उदयपुर र धरान आसपासका तीन स्थानबाट प्याराग्लाइडिङ सञ्चालन भइरहेको छ भने तमोरदेखि मुलघाट हुँदै बराहक्षेत्रसम्मको नदी यात्रा साहसिक पर्यटकका लागि आकर्षक बनेको छ । ‘हामीसँग बनावटी पूर्वाधार होइन, प्राकृतिक पूर्वाधार छ, त्यसैले साहसिक पर्यटनका लागि ठूलो लगानी आवश्यक पर्दैन,’ शाह भन्छन् ।

बसोबास पूर्वाधारमा आत्मनिर्भर कोशी
पर्यटक बसोबासको हिसाबले कोशी प्रदेश आत्मनिर्भर बन्दै गएको बताउँदै शाहले हाल प्रदेशमा तीनवटा फाइभ स्टार होटल सञ्चालनमा आइसकेका र छ वटा फाइभ स्टार होटल निर्माणको चरणमा रहेको जानकारी दिए । उनका अनुसार यसका अतिरिक्त तीनवटा सीएमजी क्लब र दुईवटा क्यासिनो सञ्चालनमा छन् भने अर्को क्यासिनो खुल्ने तयारीमा छन् । ‘मध्यम र टुरिस्ट स्ट्यान्डर्ड होटलहरू तराईदेखि मध्यपहाडसम्म विस्तार भइरहेका छन् । होटल नपुगेका क्षेत्रमा होमस्टे, फार्मस्टे र गोठस्टेले नयाँ विकल्प दिएका छन् । इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, पाँचथर र ताप्लेजुङमा होमस्टे राम्रोसँग सञ्चालनमा छन,’ उनले भने । ‘फार्मस्टेमा ३५–४५ दिनसम्म बस्दै आफैँ खेती गर्ने, चिया टिप्ने र उपभोग गर्ने अनुभव विदेशी पर्यटकका लागि आकर्षण बनेको छ । फालेलुङ र कोशी टप्पु आसपास गोठस्टेले गोठाले संस्कृतिको प्रत्यक्ष अनुभव गराइरहेको छ ।’

अन्तर्राष्ट्रिय बजार र टुरिजम डिप्लोमेसी
कोशी प्रदेश चार देश—भारत, चीन, भुटान र बंगलादेश—सँग नजिक भए पनि इमिग्रेसन र कनेक्टिभिटी चुनौतीका रूपमा छन् । बंगलादेश २९ किलोमिटर मात्रै टाढा भए पनि सहज आवतजावतको व्यवस्था नहुँदा पर्यटन लाभ लिन कठिन भइरहेको शाह बताउँछन् । चीनतर्फ पनि इमिग्रेसन संरचना कमजोर छ । उनका अनुसार यही चुनौती समाधान गर्न नेपाल पर्यटन बोर्डसँग अन्तर्राष्ट्रिय तथा आन्तरिक बजार प्रवर्धनका लागि औपचारिक सम्झौता गरिएको छ । प्रदेश सरकार आफैँ विदेशमा लगानी र प्रचार गर्न कानुनी रूपमा सीमित भएकाले नेपाल पर्यटन बोर्डलाई मुख्य साझेदार बनाइएको हो ।

जेनजी स्वयंसेवक र नयाँ मार्केटिङ मोडेल
कोशी प्रदेशले पर्यटन प्रवर्धनमा नयाँ अभ्यास सुरु गरेको शाहको दाबी छ । करिब ५०० नवयुवालाई ‘टुरिजम भोलेन्टियर’का रूपमा परिचालन गर्ने योजना बनाइएको उनले बताए । यी स्वयंसेवकले वर्षमा कम्तीमा तीन महिना, रोटेसनमा न्यूनतम १५ दिनसम्म फेस–टु–फेस मार्केटिङमा काम गर्ने उनले जानकारी दिए । २४ घन्टे टुरिस्ट हटलाइन चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । भारतीय पर्यटकका लागि गाडीमा टुरिस्ट स्टिकर प्रणाली लागू गरी प्रदेशभर सहज यात्रा सुनिश्चित गरिनेछ ।शाहका अनुसार होटल, यातायात, सुरक्षादेखि बसोबाससम्म कुनै समस्या नआउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै शाहले देश–विदेशका सबैलाई कोशी भ्रमणको निम्तो दिएका छन् । ‘एक रात मात्रै भए पनि कोशीमा बस्न सकियो भने ठूलो आर्थिक र सांस्कृतिक लाभ हुन्छ,’ उनी भन्छन् ।

धार्मिक आस्था, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आधुनिक पर्यटन रणनीतिलाई एकै सूत्रमा बाँध्दै कोशी प्रदेशले अब पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने दिशामा निर्णायक कदम चालेको शाहको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार