तीर्थयात्रीका लागि दामोदरकुण्ड खुला, धर्मशालामा निःशुल्क भोजनको व्यवस्था

शनिबार, जेठ ३०, २०८३

काठमाडौं । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित यो कुण्ड समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा रहेको छ । मुस्ताङको दुर्गम क्षेत्रमा रहेको यस कुण्डमा पुग्ने मार्गहरूको मर्मत कार्य सम्पन्न भएसँगै यात्रा सहज बनाइएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ज्याङ छेसा गुरुङले जानकारी दिए ।  यस वर्ष दर्शनार्थीलाई लक्षित गरी साउन महिनासम्मका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार दामोदरकुण्ड क्षेत्रमा रहेको धर्मशालामा जेठ २२ गतेदेखि नै निःशुल्क भोजनको सुविधा उपलब्ध गराइएको छ, जसलाई स्थानीयले चन्दामार्फत सञ्चालन गर्दै आएका छन् । कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै चराङ र त्यहाँबाट दुई घण्टाको सवारी यात्रा गरी झुमा ठाँटीसम्म पुग्न सकिन्छ । सडक मार्गको पहुँचपछि बाँकी यात्राका लागि भने तीर्थालुहरूले घोडा वा पैदल यात्रा गर्नुपर्ने हुन्छ । कठिन भौगोलिक बनावटका कारण पैदल हिँड्न समस्या हुने तीर्थयात्रीका लागि प्रतिघोडा १० हजार रुपियाँसम्मको शुल्क तोकिएको दामोदरकुण्ड मुक्तिनाथ विकास समितिले जनाएको छ । समितिले तीर्थयात्रीहरूलाई लेक लाग्ने समस्या भएमा उद्धार तथा उपचारमा समेत सहयोग गर्दै आएको छ । कालीगण्डकी नदीको उद्गमस्थल र मुक्तिक्षेत्रको शिर मानिने दामोदरकुण्डको ठूलो धार्मिक महत्त्व छ। यहाँ तीनवटा जलाशयहरू चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड रहेका छन्, जसमध्ये चक्रकुण्डलाई मुख्य मानिन्छ । विशेषगरी यहाँ पाइने शालिग्राम शिला र पवित्र जल लिनका लागि भक्तजनहरू कष्टपूर्ण यात्रा गरी यहाँ पुग्ने गर्छन्। कुबेरका पुत्रहरूले यहाँ स्नान गरी पापबाट मुक्ति पाएको धार्मिक मान्यता छ । दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको मातहतमा रहेको यस क्षेत्रमा गाउँपालिकाले आवास र भोजनको प्रबन्ध मिलाएपछि तीर्थयात्रीहरूलाई केही सहज भएको छ। पवित्रता, शान्ति र प्रकृतिको काखमा रहेको यस कुण्डको यात्राले आध्यात्मिक पुण्य मिल्ने विश्वासका साथ बर्सेनि हजारौँ दर्शनार्थी यहाँ पुग्ने गर्दछन्।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार