सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए । उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए । साम्पाङले सोही क्रममा घरको छानामाथि ढुंगा हानिएको अर्को दृश्य पनि देखिएको उल्लेख गर्दै पछिल्लो समय प्रहरीको व्यवहारप्रति चिन्ता व्यक्त गरे । नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भएपनि केही घटनाका कारण प्रहरीप्रति डर र त्रासको वातावरण सिर्जना भएको उनको भनाइ थियो । उनले भने,‘एउटा गरिब दुखी टेम्पो चालकको टेम्पो वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइदिँदै गरेको भिडियो देखियो । त्यो दृश्यले हामी मर्माहत छौं । त्यसतर्फ गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । दोषिलाई कारवाही होस् र क्षतिपूर्तीको व्यवस्था गरियोस् । त्यो सँगै घरको छानामा ढुंगा हान्दै गरेको पनि देखियो । अचम्म लाग्छ, आजभोली प्रहरी यसरी उद्दण्ड भएको देख्दा । प्रहरी देख्ने वित्तिकै शान्ति सुरक्षाको महसुस हुनुपर्ने हो । प्रहरी देख्दा डर र आतंक मान्ने वातावरण तुरुन्त सच्याइयोस् ।’ गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।