सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आजदेखि नेपाल संवत् ११४५ सुरु हुँदैछ । नेपाल सम्वतको नयाँ वर्ष सुरु भएको उपलक्ष्यमा आज देशभर विविध कार्यक्रम आयोजना गरिएका छन् । नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको हो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धरले जानकारी दिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएकोथियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेको हो । काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।