बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार हुने

बिहीबार, जेठ ३, २०८१

हेटौडा । बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सभामुख भुवनकुमार पाठकको निर्देशनमा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को अनुसूची– ३ बमोजिम, सम्बन्धित समितिको सभापतिमा उम्मेदवार बन्न सोही समितिका एक सदस्यको समर्थनमा प्रस्ताव दर्ता गर्नुपर्नेछ ।   निर्वाचन कार्यतालिका अनुसार, सभापति पदका लागि मनोनयन दर्ता शुक्रबार दिउँसो सुरु हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ हुनेछ । मतदान भने जेठ ५ गते शनिवार हुनेछ । सम्बन्धित समिति सचिवालयले मतदानका लागि फरक फरक समय निर्धारण गरेका छन्। प्रदेश मामिला समिति सभापति र सार्वजनिक लेखा समिति सभापतिको मतदान शनिवार दिउँसो २ बजेदेखि, अर्थ तथा विकास समिति सभापतिको मतदान दिउँसो साढे १२ बजेदेखि, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिको मतदान शनिबार अपराह्न दिउँसो ३: ३० बजेदेखि सुरु हुनेछ । निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान साढे १० बजे हुने प्रदेशसभा सचिवालयको कार्य तालिकामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार