सोसल मिडिया
Contact Us
युनिकोड
झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् । चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२-१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थिए । ‘तीन महिना बितिसक्यो, बिहान बेलुका छाक टार्न कठिनाई भएको छ,’ एक मजदुरले भने । चिया टिपेको ज्यालाबाट बिहान बेलुकाको दैनिकी चलाउने मजदुरले साहुले पनि बाँकी ज्याला दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाई छ । मजदुरले तत्काल ज्याला उपलब्ध गराइदिन माग गरेका छन् । तीन पुस्तादेखि यही बगानमा चियापत्ती टिपेर गुजारा गर्दै आएका मजदुर पारिश्रमिक नपाएपछि भोकै रहन बाध्य भएको बताउँछन् । भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै मजदुर नेतृ सावित्रा बञ्जराले अनेक समस्याहरुका बाबजुद काम गर्नुपरेको बताइन् । उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गरेकी छन् । तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाई छ । उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्ने छ । दैनिक पाँचसय रुपैयाँका दरले ज्याला पाउने मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको उनीहरुको भनाई छ । सञ्चालकले बगान फाड्ने र घाटामा गएको देखाउँदै मजदुरलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ । कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिदैं मजदुरलाई ज्याला रोकिरहेको उनीहरुको भनाई छ । बगानको स्याहार समेत हुन छोडेको बताउँदैं मजदुरले असुरक्षा बढिरहेको बताउँछन् । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताए । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गरेका छन् । ‘हामीले श्रमको मात्र पैसा मागेको हो, अरु केहि मागेका छैनौं,’ उनले भने । बगानका व्यवस्थापक सन्तकुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । उनले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए । ‘अलिकति भुक्तानी दिन खोजेका थियौं । उहाँहरुले लिन मान्नु भएन । केहि दिनमा एक महिनाको तलव भए पनि दिने योजनामा छौं,’ उनले भने । सिजन सुरु नभई सबै भुक्तानी दिन कठिन रहेको बगान व्यवस्थापनले जनाएको छ ।