जसपा नेपाल सरकारबाट फिर्ता हुने 

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आकस्मिक रूपमा आइतबार बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।   मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपालले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको बैठकमा सहभागी नेताले जानकारी दिए । उनले भने, ‘मधेस प्रदेशमा जसरी माओवादी र एमालेले गरेका गरेका छन् । त्यसरी नै हामीले पनि केन्द्रमा निर्णय गरेका छौँ । सरकारबाट समर्थन फिर्ता लिने निर्णय भइसकेको छ।’  मधेस प्रदेशमा जसपा नेपालले सरकारको नेतृत्व गरेको छ । मधेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएका छन् । सङ्घीय सरकारमा जसपा नेपालबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् । जसपा नेपाल विभाजन भएपछि राजनीतिक घटनाक्रम अगाडि बढेको हो । अध्यक्ष यादवले सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए। भेटघाटका क्रममा यादवले मधेस प्रदेश सरकारका बारेमा कुराकानी गरेका थिए । तर माओवादी र एमालेले यादवको कुरामा सहमति नजनाएपछि राजनीतिक घटनाक्रम अगाडि बढेको हो । जसपा नेतृत्वको मधेस सरकारबाट माओवादी र एमाले फिर्ता भएपछि त्यहाँ अर्को गठबन्धन बनिसकेको छ । सो गठबन्धनमा एमाले, माओवादी, लोसपा र जनमत रहेका छन् । नयाँ गठबन्धनले अर्को सरकार बनाउने तयारी थालेका छन् । एमाले र माओवादी बाहिरिएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । उनले मन्त्रिमण्डल पुनर्गठन पनि गरेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार