कतारका अमिर शेख तमिम विन हमाद अल थानी काठमाडौंमा

  विमानस्थलबाट सोझै कुटनीतिक वार्ताका लागि शीतल निवासमा 
मंगलबार, वैशाख ११, २०८१

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका अमिर  (राजा )  शेख तमिम विन हमाद अल थानी काठमाडौंमा अपराह्न ओर्लेसँगै कुटनीतिक भेटघाटमा व्यस्त रहे । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह काठमाडौं आएका हुन् । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । विमानस्थलमा उनलाई नेपाली सेनाले उहाँको सम्मानमा २१ तोपका सलामी दिएको थियो । थानीको स्वागतका लागि विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।   विमानस्थलबाट कतारका अमिर शीतल निवास प्रस्थान गरेका थिए ।  कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।   कतारका अमिर थानीले मङ्गलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गरेका छन् । त्यस्तै साँझ राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा सोल्टी होटेलमा रात्रीभोजको आयोजना गरेका थिए ।  कतारका अमिर अल थानी राष्ट्रपति भवन शीतल निवास पुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।  भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी थिए । 

Quatar-amir--1713885516.jpg

कतारका अमिरसँगको  भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा पौडेलले भने, “आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भिर हुनुपर्छ भन्ने म ठान्दछु ।” 
राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनस्र्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए । 
त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताएका छन् ।  कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरेका छन् । अमिरले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए । उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास व्यक्त गरे । 

WhatsApp-Image-2024-04-23-at-18.22.55-1713887316.jpeg

त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गर्नुभएको थियो । 
दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको बताएका थिए । राष्ट्रपति पौडेलले  राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दैै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए । 
दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरुमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनीभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका  छन् ।   कतार नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराएका थिए । 
राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्चविकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए । 
विपिन जोशीको रिहाईका लागि पहल गर्न आग्रह 
राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् । 
आफ्नो निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपरान्ह यहाँ आएका कतारका अमिर अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले आफूहरूका लागि विपीनको रिहाई महत्वपूर्ण चासोको विषय रहेको बताउँदै रिहाईका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेका थिए । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी वेपत्ता नै रहेका छन् । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए । 

WhatsApp-Image-2024-04-23-at-17.54.21-1713887339.jpeg

अमिरको सम्मानमा रात्रिभोज 
राष्ट्रपति पौडेलले कतारका अमिर अल थानीको सम्मानमा आजै साँझ रात्रिभोजको आयोजना गरे । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 
रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार