सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाएको बताएका छन् । भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गरेको मन्त्री खनालले बताएका हुन् । परराष्ट्रमन्त्री खनालले शुक्रवार प्रतिनिधिसभामा प्रधानमन्त्री शाहको संयुक्त राज्य अमेरिका भ्रमण र राष्ट्र संघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री खनालका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले असोज ६ देखि १० गतेसम्म न्युयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकहरूमा सक्रिय सहभागिता जनाएको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर मार खेपिरहेको तथ्य उजागर गरेको जानकारी दिए । विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढेको हिमपहिरो, बाढी र पहिरोको जोखिमबारे सचेत गराउँदै उनले पूर्वसूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड दिएको छ । मन्त्री खनालले संसद्लाई जानकारी दिएअनुसार महासभाको दौरानमा प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको थियो । भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्प्रति गहिरो समवेदना प्रकट गर्दै जलवायु मुद्दामा नेपाललाई पूर्ण ऐक्यवद्धता जनाए । साथै, अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि पनि छलफल भएको छ । यस भ्रमणका क्रममा प्रधानमन्त्रीले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गरेको बताए । परराष्ट्रमन्त्री खनालले आफैँले पनि विभिन्न ८० वटा कार्यक्रम र द्विपक्षीय बैठकहरूमा भाग लिएको र नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको बताए ।