प्रहरी बढुवा योग्यतामा हुने व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन

शुक्रबार, चैत २३, २०८०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।  बिहीबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली,२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं भन्ने बढुवा नै पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ । जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौं । त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ । अरुले बहालमा रहँदा के गर्नुभयो त्यता फर्किन्न । म चाहिँ आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिन्छु ।’ सुरक्षा निकायहरुमा अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य गर्न जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो ।
केहीअघि प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी निरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा लामिछानेले यस्तो निर्देशन गरेका हुन् ।  उनले दुवै संगठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार