अपाङ्गता भएकालाई व्यक्तिगत सहयोगी सेवाको व्यवस्था गर्न ललितपुर महानगरसँग माग

  पूर्णकालीन सहयोगीको व्यवस्थाले दिनचर्या सहज हुने
आइतबार, साउन ३१, २०८३

ललितपुर ।  अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था स्वाबलम्बन जीवनपद्धति केन्द्रले अपाङ्गता भएको दैनिक सजिलो बनाउन पूर्णकालीन व्यक्तिगत सहयोगी सेवाको व्यवस्था गर्न माग गरेको छ । 
पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिको हेरचाह र स्याहार सुसारमा परिवारका सदस्यले आहोरात्र खटिनुपर्दा परिवारका सदस्य रोजगारीबाट विमुख हुने, उनीहरुको आफ्नै स्वास्थ्यको ख्याल भएको छैन । ललितपुर महानगरमा आयोजित कार्यक्रममा स्वाबलम्बन जीवनपद्धित केन्द्रका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले व्यक्तिगत सहयोगी सेवाको व्यवस्थाले अपाङ्गता भएकाको जीवन सहज हुनुका साथै खुशी पनि बढ्ने बताए । महानगरले अपाङ्गताको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउँदै उनले भने, ‘यो व्यवस्था गरेर, यस उदाहरणीय काममा पनि ललितपुर पहिलो बनोस् भन्ने चाहना छ ।’ 
स्वाबलम्बन जीवनपद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमले अघिल्लो बर्ष महानगर र अन्य सरकारी निकायसँगको सहकार्यमा पाइलट परियोजनाका रुपमा आंशिक समयका लागि यो सेवाको शुरुवात गरेको बताउँदै भने, ‘ राम्रो रेस्पोन्स आएको छ, समय अवधि बढाउनु प¥यो भन्ने छ, त्यसैले महानगरले पूर्णकालीन रुपमा यसको व्यवस्था गर्नुपर्छ भन्ने हामी चाहन्छौ.। ’ 
इरुका स्वाबलम्बन जीवनपद्धति केन्द्र जापानका अध्यक्ष मारुको साईले अपाङ्गता भएकाहरुलाई सहयोगीको व्यवस्था हुँदा उनीहरुको मानवअधिकारको संरक्षण हुने बताइन् । यो कार्यक्रमले रोजगारी समेत सिर्जना हुने बताउँदै भनिन् , ‘ जापानमा यस्तै कामको लागि गएका नेपाली, जसलाई नेपाल फर्र्किएपछि पनि काम चाहिन्छ , उहाँहरुलाई यो क्षेत्रमा काम दिन सकिन्छ । ’
इरुका स्वाबलम्बन जीवनपद्धति केन्द्र जापानका निर्देशक हायाशाक एकाले जापानमा सहयोगीको व्यवस्थाले अपाङ्गता भएको जीवन सहज भएको बताउँदै जापानको अभ्यासलाई ललितपुर महानगरले आफ्नो परिवेश र आवश्यकता अनुसार अनुशरण गर्न सक्ने बताए । 
जाइका नेपालका प्रतिनिधि युका तिमल्सिनाले जाइका नेपालबाट पनि यो कार्यक्रममा लागि ललितपुर महानगरलाई सहयोग आफू समन्वय गर्ने धारणा राखिन् । 
जाइका उकेनावाको सहयोगमा स्वाबलम्बन जीवनपद्धति केन्द्रले ललितपुर महानगरको अपाङ्गता सम्बन्धी नीति निर्माणको लागि सहयोग गरेको कार्यक्रममा जानकारी दिइएको थियो । 
महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले निर्माण गरेका सम्पूर्ण पूर्वाधार अपाङ्गतामैत्री भएको बताउँदै यो कार्यक्रम निकै उपयोगी भएको बताए । यस विषयमा महानगरपालिकाले बैठक बसेर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनले महानगरले मात्रै नभई वडाले समेत अपाङ्गताको क्षेत्रमा बजेट विनियोजन गरेर काम गरेको बताए । अपाङ्गता भएकालाई सहयोगीको व्यवस्था गर्दा सहयोग पुग्ने बताए । यो व्यवस्थाले परिवारका सदस्यको दिनचर्या समेत सहज हुने प्रष्ट पारे । 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता महर्जनले महानगरले अपाङ्गताको क्षेत्रमा गरेका कामको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार