अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा आईजीपी कार्कीको जोड

शुक्रबार, साउन १, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले विश्वभरका प्रहरी संगठनबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको जानकारी दिएका हुन् । आईजीपी कार्कीले भने, ‘हामीले अन्तर्राष्ट्रिय सहयोग तथा समन्वयको आवश्यकता महसुस गरिरहेका छौँ, र यो आवश्यकता अन्य मुलुकहरूले पनि महसुस गरेका छन्। विश्वका प्रहरी संगठनबीच सूचना आदान–प्रदान, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि साझेदारीलाई थप सुदृढ बनाउने विषयमा हामीले छलफल गरेका थियौं ।’ उनले नेपालले जिम्मेवार साझेदारका रूपमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान क्षमता विकास, समुदाय–प्रहरी साझेदारी तथा अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि सम्मेलनमा दोहोर्याएको बताए । कार्कीका अनुसार युएन प्रहरी प्रमुखहरूको शिखर सम्मेलन नेपाल प्रहरीका लागि विश्वका उत्कृष्ट अभ्यास सिक्ने, अनुभव आदान–प्रदान गर्ने तथा भावी सहकार्यका नयाँ अवसर पहिचान गर्ने महत्वपूर्ण मञ्च बनेको छ। प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको सार्वजनिक सुरक्षा, शान्ति र अमनचयनलाई थप प्रभावकारी बनाउन उपयोग गरिने उनले बताए । उनले भने, ‘यो सम्मेलनले नेपाल प्रहरीलाई विश्वव्यापी उत्कृष्ट अभ्यास सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भावी सहकार्यका नयाँ अवसर पहिचान गर्ने महत्वपूर्ण फोरम प्रदान गरेको छ ।’ आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बढाउने विषयमा पनि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा छलफल गरेको जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल ’फम्र्ड पुलिस युनिट (एफपीयू)’ को लेभल–३ मा पुगिसकेको छ भने नेपाल प्रहरी लेभल–२ मा रहेको छ। आवश्यक स्रोत–साधन व्यवस्थापन गर्न सके नेपाल प्रहरी पनि लेभल–३ मा पुग्ने सम्भावना रहेको उनले बताए । कार्कीले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा सहभागिता बढाउने विषयलाई हामीले प्राथमिकताका साथ उठाएका छौँ। आवश्यक स्रोत–साधन व्यवस्थापन गर्न सके नेपाल प्रहरी पनि लेभल–३ मा पुग्ने सम्भावना छ।’

 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार