रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउने कुटनीतिक प्रयास उच्च प्राथमिकतामा : परराष्ट्र  

शुक्रबार, चैत २, २०८०

काठमाडौं । रुसी सेना भर्ना नेपाली नागरिकहरूलाई नेता फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ ।  विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनीरुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस–युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउन उनका आफन्त र परिवारजनले माग गरिरहेका छन् । सरकारले विभिन्न चरणमा त्यसकालागि पहल गरेपनि सफल हुन सकेको छैन ।  नयाँ गठबन्धन सरकारका तर्फबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेपछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ ।  मन्त्रालयका अनुसार रुसी सेनामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै रुसी सेनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।  परराष्ट्रका अनुसार पछिल्लो पटक धादिङका पूर्ण बहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको रुस–युक्रेन युद्धमा मृत्यु भएको छ ।  ‘रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ परराष्ट्रले भनेको छ । 
नेपालबाट रुसी सेनामा जान सरकारको अनुमति छैन । पछिल्लो समय अन्य विभिन्न उद्देश्यले जानेहरुलाई समेत सरकारले नो अब्जेक्सन लेटर लिएर मात्रै जान भनेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार