अमेरिकी राष्ट्रपतिमा जो बाइडनको औपचारिक जित

मंगलबार, मंसिर ३०, २०७७

वासिङ्टन । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् । यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो । गत नोभेम्बरमा भएको चुनावमा डेमोक्रयाटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए । अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा ‘इलेक्टरलहरूलाई’ मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन् । यो प्रक्रिया भए पनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार गर्ने ठानिएको छैन ।
सामान्यतया इलेक्टरलहरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा राज्यपिच्छेका मतहरू चर्चामा रहे । उनले कतिपय राज्यमा त मुद्दा पनि हाले तर ती सबै अदालतले उनको दाबी अस्वीकार गरे ।
डेमोक्रयाटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्निया सोमवार मत हाल्ने अन्तिम राज्य थियो जहाँ ५५ इलेक्टरल मत छ । त्यहीँको मतले बाइडनलाई राष्ट्रपति जित्न आवश्यक पर्ने २७० को सीमा पार गराएको थियो । मिसिगन र जोर्जिआजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो ।
अब के हुन्छ ?
मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ जनवरीमा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ । त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्छ ।
इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना रहेको उनको संक्रमणकालीन टोलीले घोषणा गरेको छ ।–बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार