एनआरएनए कोष हिनामिना भएको तथ्य सार्वजनिक

शुक्रबार, माघ १९, २०८०

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष बद्री केसीले हालै चन्द्रागिरी हिल्स रिसर्टमा आफ्नो समूहको भेलामा गरिएको लाखौं खर्च सदर गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई दबाब दिइ रहेको खुलासा भएको छ । केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले अध्यक्ष केसीको निर्देशनमा  कार्यकारी निर्देशक (सिइओ) राजेन्द्रकुमार राउतले  एनआरएनए भित्र आर्थिक तथा पदीय दुरुपयोग गर्दै आएको भन्दै सबै पदाधिकारीहरूलाई इमेल पठाएकी छन्  ।
‘सुरुवाती दिनहरूमा मसँग सल्लाह गर्ने, मलाई सचिवालयका कर्मचारी र अन्य सरोकारवालासँगको बैठकमा सहभागि गराउने जस्ता काम गर्नुभएको थियो तर चुनाव पछिका दिनहरू, प्रमुखतः गत अक्टोबरमा होटेल सोल्टी काठमाडौंको कार्यक्रममा बिशेष गरी मदिरामा भएको खर्च सम्बन्धमा, ट्याक्सीको बिलको बारेमा मैले उठान गरेका विषयहरू र रात्रि भोजको मदिराको बिलमा हस्ताक्षर नगर्ने र आउँदा दिनमा कुनै पनि कार्यक्रममा मदिरा सम्बन्धितका बिलमा हस्ताक्षर नगर्ने निर्णय तपाईलाई सुनाए लगत्तै मैले गर्दै आएका कामबाट पनि अलग राख्नुभयो । सो रात्रि भोजको आयोजना गर्दा मदिराको खर्च समेत संस्थाको कोषबाट तिर्ने निर्णय सहि होइन भन्ने अडान राखी बिलमा हस्ताक्षर गर्न अस्विकार गरे पश्चात म प्रशासनिक प्रमुखलाई संलग्न नगरी प्रशासनका अन्य कर्मचारीसँग मात्रै सरसल्लाह गरी प्रशासनिक प्रमुखलाई केवल निर्णय सुनाउने काम गर्न थाल्नुभयो,’ शर्माले आफ्नो इमेलमा लेखेकी  छन् ।

राहत वितरण गर्न जम्बो टोली
संस्थाको गाडी किन्ने विषय, गाडीको प्रयोजन र खर्चको विश्लेषणको प्रसंग साथै भूकम्प प्रभावित जाजरकोटमा राहत बाँड्न जाँदाको खर्चको विषयमा पनि आफ्नो असहमति रहेको उल्लेख गरेकी छन् । राहत वितरण गर्न जाँदा भएको खर्च राहतका लागि उठेको रकमबाट खर्च गर्न नहुने सुझाव दिँदा प्रमुख कार्यकारी निर्देशक राउतले ‘तपाई प्रोबेसन पिरियडमा हुनुहुन्छ । अनि जे कुरामा पनि असहमति राख्दा तपाईलाई अप्ठ्यारो पर्न सक्छ । यसमा त मदिराको बिल छैन नि” भनेर दबाब दिएको उनले उल्लेख गरेकी छन् ।’ मैले अध्यक्षज्यू र महासचिवज्यू समक्ष यो कुरा राख्ने कुरा गर्दा’ यु आर भाइलेटिङ द चेन अफ कमान्ड’ भन्नुभयो । यो सुझाव मुख्यतः अहिलेको परिस्थितिमा संस्था र बोर्डको हितमै थियो । तपाईं अध्यक्षज्यू र पदाधिकारीज्यूहरूलाई सहि सुझाव दिने पदमा हुँदा पनि दिई राख्नु भएको छैन, त्यसमा पनि मलाई आपत्ति छ’, उनले लेखेकी छन् ।
संघको आरके शर्मा नेतृत्वको समूहले पनि सहयोग रकम संकलन गरी आफ्नै खर्चमा रुकुमपश्चिम तथा जाजरकोटमै पुगेर राहत वितरण गरेका थिए । तर केसीको टोलीले भने राहतका लागि भनेर संसारभरिबाट एनआरएनहरूले पठाएको रकम आतेजाते, होटल र खानामा खर्च गरेको खुलासा भएको हो । 
‘बिनाकुनै म्यान्डेट काठमाडौंको चन्द्रागिरीमा तीन दिने आवासीय कार्यशाला गोष्ठी आयोजना गर्न भन्दै जथाभावी रकम खर्च गरेकोप्रति शर्मा समूहले आपत्तिजनक भनेको छ । 
११ औं महाधिवेशनमा गरिएका अनियमितताहरूको छानबिन गर्न सरकारले एक छानबिन समिति गठन गरिसकेको छ भने संस्थाको नवीकरण नभएकाले अवैधानिक बन्न पुगेको केसी समूहले नेपाल सरकारविरुद्ध मुद्दा समेत दायर गरेको छ । ‘एकातिर वैधानिकता पाउँ भन्दै अदालतमा मुद्दा हाल्ने अर्कोतर्फ संस्थाको कोषको चरम दुरुपयोग गर्ने काम अवैधानिक मात्रै नभएर अनैतिक पनि छ ।  यस्तो काम तत्काल बन्द गर्न हामी बद्री केसी समूहलाई चेतावनी  दिन चाहन्छौं । संसारभरि रहेका संघका झन्डै एक लाख सदस्यहरूले सदस्यता वापत पठाएको रकमको दुरुपयोगको हिसाबकिताब गरिने र सम्बन्धित व्यक्तिहरूबाटै असुलउपर गरिने पनि हामी स्पष्ट पार्न चाहन्छौं,’ आरके शर्मा समूहका महासचिव बुद्धि सागर सुवेदीले भने ।
सहायक निर्देशकको पत्र पश्चात एनआरएनभित्र मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । शर्मा पक्षबाट निर्वाचित उपाध्यक्ष गंगाधर गौतमले संघलाई प्राविधिक रुपमा कव्जा गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने, संघलाई पुरै तहसनहस पारेर बिभाजित बनाई संघको चलअचल सम्पति दुरुपयोग गर्ने काम भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्,‘विगतमा आईएलो प्रोजेक्ट, संघको सचिवालय हुँदै भेरो सेटिंगबाट समेत नपुगेर संघमै महत्वपूर्ण योगदान दिनुहुने कर्मचारीमाथि यो सम्मको निर्लज्ज व्यवहार गर्न र गराउन कुन नैतिकताले दिन्छ ?’
गत असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको होटल सोल्टीमा आयोजित संघको  ११ औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममा गम्भीर अनियमितता गरिएको प्रमाण भेटिएपछि विभाजित भएको एनआरएनएमा हाल कर्मचारी पनि विभाजित अवस्थामा पुगेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार