रुसी सेनामा भर्ना भएका नेपालीका परिवार भन्छन्, ‘युद्धमा नेपाली मरे रुसी सेनाले अलपत्रै छाडेर जान्छन्’

शुक्रबार, माघ १९, २०८०

काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उनीहरुको तत्काल उद्धार गरिदिनका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सरकारलाई दबाब बढाएका हुन् । उपस्थित दर्जन बढी पीडित परिवारका सदस्यहरुले सेनामा भर्ना भएका आफ्ना आफन्तलाई नेपाल ल्याइदिन सरकारसँग माग गरेका हुन् । 
उदयपुरबाट दुधे बालक बोकेर काठमाडौं आएकी टिना घिमिरेले पति पदम घिमिरे दुई महिनादेखि सम्पर्कविहीन भएको उल्लेख गर्दै उद्दारका लागि पहल गरिदिन आग्रह गरिन । 
उनका अनुसार रुसी सेनामा गएका श्रीमान पदमले दुई पटक भाग्ने प्रयास गरेपनि दुवै पटक असफल भएको, पदमलाई रुसी सेनाले फर्काएर लगेपछि दुई महिनादेखि सम्पर्कमा आएका छैनन् । 


‘दुई महिना भैसक्यो उहाँ सम्पर्कमै हुनुहुन्न । उहाँ दुईचोटी भागेको बताउनुहुन्थ्यो । पहिलो पटक भागेको पाँच दिनमा समातेर फिर्ता ल्यायो भनेर क्याम्पबाट मलाई फोन गर्नुभएको थियो । अर्कोचोटी पनि भाग्नुभएको थियो । दुई दिनमै उहाँ समातिनु भयो ।’  त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उनले भावुक हुँदै थपिन,‘त्यसपछि राति म ‘वाक’ जान लागेको छु । आएपछि फोन गर्छु भनेर जानुभएको त्यसपछि फोन गर्नुभएको छैन् ।’ अवरुद्ध गला र झरेका आँशुले टिनाको पीडा प्रष्ट देखिन्थ्यो । 
यस्तै, खोटाङकी शिला राईले पनि रुसी सेनामा भर्ना भएका आफ्नो दाई रवीनकुमार राई घाइते अवस्थामा रहेको जानकारी दिँदै उद्धार गरिदिन आग्रह गरिन् । शिलाको अनुसार उनको दाई रवीनकुमार २१ दिनदेखि रुसको अस्पतालमा उपचाररत छन् ।  शिलाले भनिन्, ‘दाई हामीसँग सम्पर्कमै हुनुहुन्छ । तर,उहाँ हस्पिटलमा हुनुहुन्छ । अडियो कल बाहेक भिडियोमा हेर्न पाएका छैनौ । उहाँ नेपाल आउन चाहनुहुन्छ । मेरो दाइलाई मात्र होइन जतिपनि रसियन आर्मीमा आवद्ध हुनुहुन्छ उहाँहरुलाई सरकारले चाँडोभन्दा चाँडो नेपाल पर्काइदिन अनुरोध गर्छु ।’
यता सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको सुनाए । सात लाख रुपैयाँ खर्च गरेर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका रामकुमार प्रधानसँग अन्तिम पटक असोज २५ गते कुराकानी भएको खड्गीले बताए । त्यसयता उनका सालो सम्पर्कविहीन छन् । 


आफ्नो सालोसँग बन्करमा बसेका केही नेपाली घाइते भएको उल्लेख गर्दै उनले थपे, ‘एउटै बंकरमा बसेको उसका साथीहरुलाई बमको छर्रा लागेर घाइते भएकोले उपचार गराइरहेका छन् । मेरो सालो कहाँ गयो भाग्यो कि युक्रेनले समात्यो थाहा छैन ।’ 
रुसी सेनामा भर्ती भएका तर भागेर खोटाङका दुई महिना अघि नेपाल आउन सफल सुमन राईले त्यहाँ करिब १४÷१५ हजारको आँकडामा नेपाली भर्ती भएको हुनसक्ने बताएका छन् । आफैंले चारसय बढीको ज्यान गुमाएको देखेको उनको भनाइ छ ।
रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको जानकारी दिएका थिए ।
आफूले एक महिना १८ दिन त्यहाँ काम गरेको उनको भनाई छ । ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ । त्यो भन्दा धेरै मरिसकेका छन्’, उनले भने । 


उनले ऋण काढेर रुस जाँदा आठ लाख र भागेर आउँदा तीन लाख रुपैंयाँ तिरेको बताए । उनका अनुसार सेनामा भर्ती भैसकेपछि युद्धमा कोही मरे भने उनीहरुलाई त्यसै छाडिन्छ । 
सुमनले भने, ‘नेपाली मरे छाडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ।’ 
असोज १५ मा रुस पुगेका राई तिहारको अघिल्लो दिन रातो पासपोर्टका लागि ज्यान दिन्न भनेर नेपाल फर्किएको सुनाएका थिए । उनको लटमा भर्ना हुनेहरू आठसय जना रहेको उनले सुनाए । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार