स्ववियु निर्वाचनका लागि देशैभर उत्साहजनक उम्मेदवारी दर्ता

शनिबार, फागुन २७, २०७९
मयुर प्लाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ ।  आज उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए । 
“देशभरिका क्याम्पसमा उत्साजनक रुपमा उम्मेदवारी दर्ता भएका छन्” उनले भने, “केही अवरुद्ध भएका क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र सम्वाद गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छौँ ।” विद्यार्थी सङ्गठनले आआफ्नो ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए । स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो ।  
आज बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् । 
निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो । त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी सङ्गठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले आज मनोनयन पत्र दर्ता गराएका प्रत्यक्षतर्फका उम्मेदवारको नाम नामावली आजै प्रकाशन गरिएको बताए  । उनका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन । 
उपत्यका त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल ल क्याम्पस, पद्मकन्या क्याम्पस, सरस्वती क्याम्पस, पशुपति बहुमुखी क्याम्पसलगायत सबै क्याम्पसमा निर्वाचनमा विद्यार्थी सङ्गठनले उत्साहजनक रुपमा सहभागी भई उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारको नामावली उपर दाबी विरोध भोलि फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । 
स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । 
खुकुरीसहित एक जना पक्राउ
रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्ववियुको चुनावी कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियूबीच मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुन थालेपछि बैतडीका चन्दलाई खुकुरीसहित नियन्त्रणमा लिइएको हो । घटनाका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । 
गृहमन्त्रालयले यस्ता घटना नियन्त्रणका लागि निगरानी गर्न र उच्छङ्खल गतिविधि गर्नेलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयले यसअघि नै निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार