चीन–अमेरिका सम्बन्धमा सधैं चिसो

बलुन विवादले चीन र अमेरिकाबीच अविश्वास गहिरियो

शनिबार, फागुन ६, २०७९

बेइजिङ । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा ‘कुनै माफी नमाग्ने’ अडान दोहोर्‍याए । जसको केही घण्टामा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले ‘तनाव बढाउँदै वार्ताको लागि अनुरोध गर्न नसक्ने’ जनायो ।
चीनले अमेरिकी आकाशमा भेटिएका बलुनहरू जासुसी नभएको दाबी गरिरहँदा अमेरिकाले आफ्नो आरोपलाई समर्थन गर्ने थप विवरणहरू खुलासा गरिरहेको छ ।
यो मामिलामा वासिङ्टन र बेइजिङले एकअर्काप्रति जनाएका प्रतिक्रियालाई अन्य देशहरूले भूराजनीतिक स्थिरता र राष्ट्रिय सुरक्षाको कसीमा नजिकबाट नियालिरहेको जनाएका छन् ।
दुई देशबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका पर्यवेक्षकहरूले दुई देशबीचको सम्बन्धमा बढ्दै गएको खाडल कम गर्न चुनौती हुने बताएका छन् ।
कतिपयका लागि बलुन प्रकरणले धेरै देशहरूलाई चीनको निगरानी क्षमतालाई लिएर चिन्ता बढाएको छ । किनभने सरकारहरूले चीनले गर्ने निगरानीबारे आफूलाई थाहा नभएका विषयहरूको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ ।
अमेरिकाले चिनियाँ बलुन खसालिदिएपछि यसै साता अमेरिकाको एउटा प्रमुख सहयोगी देश जापानले समेत आफ्नो आकाशमा विगतमा देखिएका अज्ञान बस्तुको पुनः विश्लेषण गरिएको जनाएको छ ।
तीमध्ये तीनवटा चिनियाँ जासुसी बलुन रहेको आफूहरूलाई ‘बलियो आशङ्का’ रहेको अधिकारीहरूले बताएका छन् ।
चीनले आफ्नो भूमि दाबी गर्दै आएको अर्को अमेरिकी साझेदार ताइवानको आकाशमा पनि विगतमा दर्जनौँ चिनियाँ सैन्य बलुनहरूले जासुसी गरिरहेको एकजना ताइवानी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सिअल टाइम्सले जनाएको थियो । पछि ताइवानको रक्षा मन्त्रालयले आफ्नो भूभागमा चिनियाँ मौसम सम्बन्धी बलुनहरू मात्रै देखिएको प्रष्टीकरण दियो ।
यद्यपि ताइवानले आफ्नो हवाई क्षेत्रमा कुनै पनि शङ्कास्पद सैन्य वस्तुहरू देखिए गोली प्रहार गर्न कुनै हिचकिचाहट नहुने चेतावनी दिएको छ ।
“अरू देशले विगतमा के हुन्थ्यो भनेर थाहा पाएका थिइनन्। अब उनीहरूले थाहा पाए। यसले अरू देशहरूको हकमा बुझाइमा रहेको खाडल उजागर गरेको छ। र चीनले यो खाडलको फाइदा उठाएको कुरा नौलो होइन,” कार्नुगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता इयान चोङ भन्छन् । अमेरिकी दाबीमा विश्वास गर्नेहरूले चीनको निगरानी क्षमताको कम आकलन भइरहेको ठानेका छन् ।
“यसले के देखाउँछ भने चीनको जनमुक्ति सेनाले जुनसुकै प्रविधि र मिसन प्रयोग गरेर चीनको शक्ति प्रदर्शन गर्ने क्षमता देखाउन, निगरानी गर्न र अमेरिकालाई जोखिममा पार्न जे पनि गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयका पूर्व अधिकारी ड्रु थम्सनले भने ।
उनले चीनले आफ्नो प्रतिष्ठामा पर्न सक्ने प्रभाव, अन्तर्राष्ट्रिय कानुनको दायित्व लगायतका विषयहरूलाई प्राथमिकता नदिई यस्ता गतिविधि गरिरहेको दाबी गरेका छन् ।

‘आवश्यकता भन्दा बढी प्रतिक्रिया’
अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो विरोध नजनाउँदा विश्व थप असुरक्षित हुने दाबी गर्दै ड्रु थम्सनले अन्तर्राष्ट्रिय कानुनको कमजोरी समेत उजागर गरेको बताए ।
कतिपय जानकारहरूले यस मामिलामा जनाएको प्रतिक्रिया विश्वको शक्ति राष्ट्र बन्ने प्रयास र त्यसका लागि विश्वास जित्ने चीनको प्रयत्न सुहाउँदो नभएको टिप्पणी गरेका छन् ।

जो बाइडन
चीनले समेत उक्त बलुन मौसम अध्ययनका लागि छोडिएको गैरसैनिक दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने थप प्रमाणहरू सार्वजनिक गर्न सकेको छैन ।
बलुन कुन कम्पनीले उडाएको थियो भन्नेजस्ता विवरण बाहिर आएका छैनन् । पारदर्शिताको अभावका कारण मानिसहरूमा थप शङ्का बढेको अनुसन्धानकर्ता चोङ बताउँछन् ।
यस घटनासँगै बेइजिङले पनि विगतमा अमेरिकाले चीनमा १० वटा जासुसी बलुन उडाएको दाबी गरेको छ ।
अमेरिकाले अस्वीकार गरेको यस्तो दाबीले मानिसहरूलाई थप दोधार बनाएको चोङ बताउँछन् ।
“एक अर्काको देशमाथि बलुन उडाउने स्वीकार्य अभ्यास भएको कुरा चीनले बताउन खोजेको होरु” चोङको प्रश्न छ ।
यस्तो दाबी आफ्नो सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने चिनियाँ अडान विपरीत मात्र नभई कुनै पनि आरोपलाई अर्को आरोप लगाएर खण्डन गर्ने शैली भएको थम्सन बताउँछन् । तर यस मामिलामा अमेरिकाले जनाएको प्रतिक्रियाले चीनको पक्ष लिइरहेकाहरूलाई समेत निराश बनाएको छ ।

चिनियाँ बलुन
यसै साता उत्तर अमेरिकी क्षेत्रको आकाशबाट खसालिएका तीनवटा अन्य वस्तुहरू विदेशी जासुसी उपकरण नभएको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन् ।
आफ्ना निर्णयको प्रतिरक्षा गर्दै अमेरिकी राष्ट्रपति बाइडनले व्यावसायीक वायुयानहरूको सुरक्षा र संवेदनशील क्षेत्रमा जासुसी गर्न सक्ने भएका कारण ती वस्तुहरूलाई खसालिएको बताएका छन् ।
बेइजिङस्थित थिङ्क ट्याङ्क सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेनका उपाध्यक्ष भिक्टर गाओ अमेरिकाले “आवश्यकता भन्दा बढी प्रतिक्रिया” जनाएर बलुनहरू खसालेको बताउँछन् ।–बीबीसी 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार