नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड राजनीतिक भेटघाटमा 

सोमबार, माघ १६, २०७९

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएकी अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार राजनीतिक भेटघाटलाई तिब्रता दिएकी छन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनको सरकारी निवास बालुवाटारमा भेट गरेकी नुल्याण्डले अपराह्न प्रमुख विपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेकी छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अपरह्न उनले भेटघाट गर्ने कार्यक्रम छ । केही वर्ष अघिदेखि भारतीय नजरमा नेपाललाई हेर्दै आएको अमेरिकाले नेपालमा चीनको बढ्दो सक्रियताका कारण आफ्नै रणनीतिका आधारमा हेर्न थालेको छ ।

6F8A48821675059015.jpgवामपन्थी दलहरुको सरकार बनेका बेला चिनियाँ सक्रियता बढ्ने गरेको छ । चिनियाँ सक्रियता बड्दा अमेरिकी चासो देखिने गरी हुन थालेको छ । चीन र अमेरिकाबीच हालैका वर्षहरूमा प्रतिस्पर्धा बढिरहँदा त्यसको बाछिटा नेपालसम्म पनि आइपुग्ने गरेका छन । यस्तोमा हालैका महिनाहरूमा अमेरिकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरू नेपालमा भइरहेका छन् । यसै मेसोमा राजनीतिक मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड दुई दिने भ्रमणमा काठमाडौैमा छिन् । सन् २०२२ मा नेपाल–अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको भन्दै द्विपक्षीय भ्रमणहरू सम्बन्ध थप मजबुत बनाउने कूटनीतिक आदानप्रदान रहेका दुवै देशका अधिकारीहरूले बताउँदै आएका छन् । अमेरिका र चीनबीच प्रतिस्पर्धा तीव्र भइरहँदा वाशिङटनको विदेश नीति चिनियाँ सन्दर्भबाट हेर्ने क्रम बढेको र त्यो दक्षिण एसिया नीतिको हकमा पनि लागु हुने बताइन्छ ।
नेपालमा बेइजिङको प्रभाव बढ्नुको कारणले मात्रै वाशिङटनलाई यो महत्त्वपूर्ण भएको होइन। बेइजिङलाई फाइदा पुग्नसक्ने हालैको नेपाली आन्तरिक राजनीतिक घटनाक्रमका कारण पनि यस्तो भएको हो । नेपाल र संयुक्त राज्य अमेरिकाले सन् १९४७ मा औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेका थिए । राणाशासनकालमा त्यसरी नेपालसँग सम्बन्ध गाँसेर अमेरिकाले महत्त्वपूर्ण गुन लगाएको हो । 
अमेरिकी चासो बढिरहेकै बेला अमेरिकी वरिष्ठ कुटनीतिज्ञ यति बेला नेपाल भ्रमणमा रहेकी छन् । नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । बालुवाटारमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरेका थिए । 

देउवासँग पनि भेट 
कांग्रेस सभापति शेरबहादुर देउवासँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । 
भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ । 

de1675067975.jpg

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार