प्रधानमन्त्री प्रचण्डलाई भारत र अमेरिकीको शुभकामना

शुक्रबार, पुस १५, २०७९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निकट छिमेकी भारत तथा अमेरिकाले प्रधानमन्त्रीको सफल कार्यकालका लागि शुभकामना दिँदै सँगै काम गर्ने बताएका छन् ।

नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत

नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका हुन् ।
गत मङ्सिर ४ गते भएको निर्वाचनपछि यही पुस १० गते नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नेपालमा निर्वाचनपछि गठन भएको सरकार र राजनीतिक परिस्थितिका बारेमा एक सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रवक्ता बाग्चीले भने, “पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनेबित्तिकै हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभयो । नेपालका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिइसक्नुभएको छ ।”

दुई देश बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए । नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने पक्षमा रहेको उल्लेख गर्दै उनले भने, “दुई देशका बीचमा रहेको अद्वितीय एवं सांस्कृतिक सम्बन्धलाई बढावा दिँदै मिलेर काम गर्ने आशा राखेका छौँ । द्विपक्षीय सम्बन्धलाई बढाउने कुरामा हामी कुनै कमी हुन दिँदैनौँ ।” प्रवक्ता बाग्चीले यसअघि नै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताएको दोहो¥याए । नयाँ सरकारलाई बधाई दिने क्रममा नै यो सन्देश दिइसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिएका थिए । द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार