रवी लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

बुधबार, मंसिर २८, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवी लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ।   रिटमा रवी लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ।   चितवन(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ।     ‘नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, निर्वाचनमा उम्मेदवार हुन, प्रतिनिधिसभा सदस्य हुन नपाउने कानूनी व्यवस्था विपरीत काम कार्यवाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्बजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु’ रिटमा भनिएको छ।  रिटमा लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार